काठमाडौं । देश डिजिटाइजेसनको यात्रामा अगाडि बढिरहँदा आईसीटी क्षेत्रको व्यावसायिक विकास पनि समानान्तर रुपमा भइरहेको छ । जसमा सफ्टवेयर उद्योगको हिस्सा उल्लेखनीय छ । पछिल्लो समय नेपालमा धेरै सफ्टवेयर उद्योग स्थापना भइरहेका छन् । एफवान सफ्ट इन्टरनेश्नल, डियरहोल्ड, क्लाउड फ्याक्ट्री, कोटिभिटीलगायत ठूला कम्पनी हुन् वा साना लगानीमा स्थापना भएका ससाना कम्पनी संख्या उल्लेखनीय नै छ ।
उद्योग विभागको तथ्यांकअनुसार नेपालमा हाल ३ सय ७३ कम्पनी सफ्टवेयर कम्पनी शीर्षकअन्तर्गत दर्ता भएका छन् । दर्ता भएका सबै कम्पनी सञ्चालनमा छैनन् । तर, यी कम्पनी रोजगारी सृजना गर्दै देशको अर्थतन्त्रमा भने ठूलो टेवा पुर्याएका छन् ।
विश्व डिजिटाइजेसनको युगमा स्थानान्तरण भइरहेको अवस्थामा प्रविधि अत्यावश्यक बनेको छ । यस्तोमा आईटी तथा सफ्टवेयर उद्योगले राष्ट्रिय अर्थतन्त्रको दिशा र भविष्यलाई नै आकार दिन सक्ने वैश्विक धारणा छ । आजको दिनमा व्यक्तिगत, व्यावसायिकदेखि सरकारी प्रयोजनका लागि सफ्टवेयर प्रयोग हुन्छन् । शिक्षा, स्वास्थ, खाद्यान्न, बजार, इन्टरप्राइज सबैको कामलाई चाँडो तथा चुस्त बनाउन सफ्टवेयरको प्रयोग हुने गरेको छ ।
सफ्टवेयर उद्योगको भविष्यलाई देखेर स्वदेशी तथा विदेशी लगानीमा विभिन्न सफ्टवेयर कम्पनीहरु स्थापना भएका छन् । डियरहोल्ड, कोभिटिभी, योमरी, क्लाउड फ्याक्ट्री जस्ता ठूला कम्पनीहरु विदेशी लगानीमा नेपालमा सञ्चालन छन् भने फिनटेक सफ्टवेयरमा एकछत्र राज गरेको एफवान सफ्ट, ब्रेनडिजिट, रिगो, क्लाउड हिमालय जस्ता विभिन्न कम्पनीहरुले लामो समयदेखि नेपालमा सफ्टवेयर सेवा प्रदान गरिरहेका छन् ।
अहिले धेरै नेपाली सफ्टवेयर कम्पनीहरुले देश तथा विदेशका यी तमाम किसिमका सफ्टवेयर आवश्यकताहरु पूर्ति गरिरहेका छन् । तर, नेपालको सिंगो अर्थतन्त्रमा सफ्टवेयर उद्योगको योगदान कति छ भनेर कुनै सरकारी निकायले गणना गरेको छैन ।
तर सफ्टवेयरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार भने ठूलो छ । गत वर्ष २०२० मा मात्र नेपालमा ८४ करोड रुपैयाँको सफ्टवेयर औपचारिक च्यानलबाट भित्रिएको छ भने ५२ लाख रुपैयाँको सफ्टवेयर प्रोडक्ट निर्यात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रकी प्रवक्ता लक्ष्मी जोशीले बताउछिन् ।
नेपालमा प्रयोग हुने अधिकांश सफ्टवेयर भारत, चीन र कोरियाबाट आयात हुने गरेका छन् भने नेपाली कम्पनीहरुले मूख्यतः जापानका लागि सफ्टवेयर निर्माण गरिरहेका छन् ।
तर इन्टरनेटको माध्यमबाट प्रसार हुने प्रविधिको यो भन्दा ठूलो हिस्सा कति आयात निर्यात हुन्छ यकिन लेखाजोखा त कसैसँग छैन ।
विश्वको उदयीमान आईटी तथा सफ्टवेयर उद्योगको नेपालमा पनि राम्रो भविष्य रहेको सफ्टवेयर डेभलपमेन्ट कम्पनी जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवाल बताउँछन् ।
अहिले नेपालका अधिकांश ई–कमर्श एप, बैंकिङ तथा फिनटेक एप, शैक्षिक एप लगायत सीआरएम, ईआरपीहरु नेपालमै बनेर प्रयोग हुने गरेका छन् । स्वदेशमा मात्र होइन विदेशमा पनि नेपालीले बनाएका सफ्टवेयरहरु प्रयोग भइरहेका छन् । नेपालका धेरै कम्पनीहरुले विदेशी ग्राहक तथा कम्पनीका लागि समेत सफ्टवेयर सोल्युसनहरु प्रदान गर्ने गरेका छन् ।
तर, क्लाइन्ट फ्रोफेसनल नहुने, समयमा भुक्तानी नगर्ने, सपोर्ट, मेन्टेनेन्स, क्वालिटी सफ्टवेयर तथा आईटीमा लगानी गर्न नेपाली कम्पनीहरु खासै इच्छुक नहुने हुँदा घरेलु बजार सफ्टवेयर उद्योगका लागि चुनौतीमय रहेको खल्ती पे, चर्चित स्प्यार्रो एसएमएस तथा पिकोभिको सफ्टवेयरको डेभलपर कम्पनी जानकी टेक्नोलोजीका सीईओ अग्रवाल बताउँछन् ।
सफ्टवेयर उद्योग औपचारिक, च्यानलाइज र व्यवस्थित भएको खण्डमा धेरै अगाडी जान सक्ने उनको विश्वास छ । इन्टरनेट पनि गाँस, बास र कपास जत्तिकै महत्वपूर्ण भइसकेको अवस्थामा सफ्टवेयर उद्योगको विकास बिना नेपालको अर्थतन्त्र अगाडी बढ्न नसक्ने उनको भनाई छ ।
तर सफ्टवेयर तथा आईटी प्रोडक्टको मामिलामा घरेलु क्षमतामाथि विश्वास नगर्ने प्रवृति पनि नेपाली कम्पनी तथा भेण्डरहरुमा नै रहेको सफ्टवेयर डेभलपमेन्ट तथा आईटी कम्पनी नेक्टर डिजिटका सीईओ अमृत स्पर्श बताउछन् । विदेशी सफ्टवेयरको गुणस्तरियता प्रदान गर्न सक्ने सफ्टवेयर कम्पनी नेपालभित्रै पनि रहेको उनी बताउँछन् ।
‘बाहिरको सफ्टवेयर एक करोड पर्यो भने पनि प्रयोग गर्न तयार हुन्छन् । तर हामीले त्यो भन्दा सस्तोमा सफ्टवेयर बनाएर दिदाँ पत्याउँदैनन् । नेपाल सरकारको मापदण्ड अनुसार हामी सफ्टवेयर बनाउँछौं त्यसमा उनीहरु हामीलाई विश्वास गर्दैनन् ।’ अमृत भन्छन् ।
हाल नेपालका धेरै कम्पनीहरुले विदेशी कम्पनीका लागि आउटसोर्सिङ गरी सफ्टवेयर विकास गर्छन् । विदेशीतले ती सफ्टवेयर ढुक्क साथ चलाउँछन् तर नेपाली कम्पनी तथा भेण्डरले भने घरेलु सफ्टवेयरलाई विश्वास नगरेको उद्योगीहरुको गुनासो छ ।
‘नेपालमा सामान्य अकाउन्टिङ तथा बिलिङ सफ्टवेयरसम्म भारतबाट खरिद गरी ल्याइन्छ तर जापान, दुबई जस्ता विभिन्न मुलुकमा यहाँ निर्माण भएका सफ्टवेयर ढुक्क साथ प्रयोग भइरहेका छन् ।’ अमृतले भने ।
तर विदेशीको तुलनामा कतिपय स्वदेशी सफ्टवेयर कम्पनीहरुको आफ्टर सेल्स तथा सपोर्ट सिस्टमहरु कमजोर हुने गरेकाले पनि नेपाली कम्पनीहरुप्रति भेण्डरहरुको विश्वास नरहेको उनीहरु स्वीकार्छन । यो उद्योगप्रति जनताको विश्वास जगाउन र उद्योगीहरुलाई उत्साहित बनाउन सरकारको ठूलो हात हुने उनीहरुको भनाई छ ।
हाल संघदेखि स्थानीयसम्मका विभिन्न निकायमा अधिकांश भारतीय सफ्टवेयरहरु प्रयोग हुन्छन् । घरेलु कम्पनीले ५० लाखमा बनाएर दिन सक्ने सफ्टवेयर विदेशी मुलुक तथा थर्डपार्टीहरुबाट २ देखि ३ करोड रुपैयाँ तिरेर सरकारले आयात गरेको छ । सरकारी स्तरबाट सफ्टवेयर पाउन टेण्डर प्रक्रियामा भिजिसकेकाहरुका लागि मात्र सहज हुने अग्रवाल बताउँछन् ।
‘धेरै जसो सरकारी आयोजना अनौपचारिक च्यानल तथा व्यक्तिगत सम्बन्धको आधारमा प्राप्त हुन्छ । धेरै आयोजना त बाहिरका कम्पनीलाई जान्छ । बाहिर पनि आयोजना पाउन कठिन हुन्छ । नेपालमा अधिकांश सफ्टवेयर कम्पनी तथा डेभपरहरुले बाहिरको कम्पनीले आयोजना पाएपछि नेपाली जनशक्तिको मूल्यको हिसाबले सस्तो पर्ने हुँदा आउटसोर्सिङबाट काम गर्छन्’ अग्रवालले भने ।
सरकारी निकायले नै स्वदेशी सफ्टवेयर उद्योगलाई प्रवद्र्धन गर्ने नीति नलिएपछि स्वदेशी सफ्टवेयरमा निजी क्षेत्रबाट पनि विश्वासको वातावरण नभएको उनीहरु बताउँछन् । केही समयअघि आन्तरिक राजस्व विभागले कम्प्युटराइज्ड बिलिङ सफ्टवेयरका लागि नेपालमै निर्माण, होस्ट भई आईआरडी भेरिफाइड सफ्टवेयर मात्र प्रयोग गर्ने घोषणा गरेको थियो । तर, अहिले आईआरडीले बाहिरको सफ्टवेयरलाई पनि आईआरडी भेरिफाइड गरिरहेको छ ।
बोली र कार्यन्वयनमा समेत एकरुपता छैन । यसरी देशको आन्तरिक प्रयोजनका लागि प्रयोग हुने सफ्टवेयर विदेशमा निर्माण तथा होस्ट हुँदा यसले डेटा तथा आन्तरिक सुरक्षामा समेत खलल पार्दछ । हाल नेपालको हरेक वित्तीय कारोबारको तथ्यांक स्ट्राटा तथा एबीसी जस्ता विदेशी कम्पनीहरुसँग छ । नेपालका सबैजसो बैंकले भारतीय कम्पनी फिनाकलको सफ्टवेयर प्रयोग गर्छन् । यीमध्ये धेरै डेटाहरु खुल्ला रहेको अमृत दाबी गर्छन् ।
‘अहिले यातायात, श्रम, प्रशासनका धेरै डेटाहरु यतिकै खुल्ला पनि उपलब्ध छन्, अलिकति प्राविधिक ज्ञान प्रयोग गरी खोतल्ने हो भने सहजै प्राप्त गर्न सकिन्छ । सफ्टवेयरको लाइसेन्स जुन दिन सकिन्छ त्यो तथ्यांकहरु हाम्रो एक्सेसभन्दा बाहिर पुग्छ र उनीहरुको स्वार्थ अनुकूल प्रयोग हुनसक्छ ।’
सरकारले डिजिटल नेपालको नारा ल्याए पनि आईसीटी क्षेत्रलाई भविष्यको उद्योगको रुपमा पहिचान गर्न सकेको छैन । वास्वतमा नेपालमा आईटी उद्योगको संख्या, कारोबारको स्थितिको कुनै औपचारिक तथ्यांक नै छैन ।
आईटी कम्पनीलाई अन्य कम्पनी जसरी बैंकले सजिलै ऋण नदिने उनीहरु बताउँछन् । बजारमा जथाभावी सफ्टवेयर कम्पनीको नाममा संस्था र व्यक्तिहरुले काम गर्ने, तीनको कुनै स्तर नहुने भएकाले वास्तविक कम्पनीहरुले समेत विश्वास गुमाउनु परेको उनीहरु बताउँछन् । यसो हुँदा सफ्टवेयर तथा कम्पनीको स्तरसमेत तोकिनुपर्ने उनीहरुको माग छ ।
नेपाली सफ्टवेयर उद्योगमा दक्षजनशक्ति र विज्ञहरुको अभावले पनि ठूलो चुनौती खडा गरेको छ । बजारमा नयाँ प्रशस्त पाइन्छन् । तर, अनुभवी र वरिष्ठहरु पाउन गाह्रो भएको अग्रवाल बताउछन् । सिनियर डेभलपरका लागि रोजगारी खुलाएको ३ महिना भइसक्दा पनि डेभलपर नपाइरहेको उनी बताउँछन् ।
‘महामारीपछि ठूलै चुनौतीको रुपमा दक्ष जनशक्ति अभाव देखा पर्यो,’ अग्रवाल भन्छन्, ‘नयाँ फ्रेसर्सहरु त बजारमा प्रशस्तै छन् । आवेदन दिन्छन्, सिक्नलाई सिफारिस पनि लिएर आउँछन् । तर उनीहरुलाई सिकाउने सिनियर सुपरभाइजरहरुको अभाव छ ।’
महामारी अघिसम्म सिकेर अनुभव बटुलिसकेका डेभलपर्सहरु अमेरिका, क्यानडा, जर्मनी तथा अष्ट्रेलिया जाने गरेका थिए । तर महमारीपछि विदेश नगई स्वदेशमै बसेर फ्रिल्यान्सको रुपमा आउटसोर्सिङको काम गरिदिन्छन् ।
‘मैले डेढ लाख रुपैयाँ तलब दिने डेभलपरहरु अहिले घरमै बसिबसी मासिक २ हजार डलर कमाउँछौं भन्छन्, न त काठमाडौंमा आएर अफिस धाउनु पर्ने झन्झट न त २५ प्रतिशत आयकरको भार । त्यो २ हजार डलरलाई फेसबुक एडमा प्रयोग गरेर नेपालको अनौपचारिक च्यानलहरुबाट अझ धेरै पैसा कमाउँछन् ।
आम्दानीको कुनै पारदर्शीता पनि छैन सरकारले करोडौं राजस्व पनि गुमाइरहेको छ । कति पैसा भित्रियो त्यसको कसैसँग लेखाजोखा नै छैन । पछिल्लो समय यो ट्रेण्ड एकदमै धेरै बढेको छ । सफ्टवेयर उद्योग मात्र नभएर यो सिंगो आईसीटी क्षेत्रकै लागि ठूलो चुनौती हो’ अग्रवालले भने ।
दक्ष जनशक्तिको कारण स्वदेशी कम्पनीहरुले विदेशी कम्पनीसँग प्रतिस्पर्धा पनि गर्न नसकिरहेको उनी बताउँछन् । सरकारले समयमै आईसीटी क्षेत्रलाई व्यवस्थित गरे नीतिगत हस्तक्षेप गरी सबै कुरालाई औपचारिक बनाए नेपाली सफ्टवेयर उद्योगको भविष्य उज्जवल बन्ने उनीहरुको अपेक्षा छ ।