काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कै टिकटबाट युरोप र अष्ट्रेलिया जान पाइने भएको छ । युरोप र अष्ट्रेलियासँग नेपाल जोड्ने उद्देश्यले निगमले विभिन्न एयरलाइन्सहरुसँगको समन्वयमा टिकट बिक्री सुरु गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली यात्रुहरुलाई सहज र सरल रुपमा विदेशको यात्रा गर्ने वातावरण मिलाउन निगमलाई निर्देशन दिएसँगै विभिन्न एयरलाइन्ससँगको समन्वयमा उडान सुरु गरेको हो ।
युरोप र अष्ट्रेलिया उडानका लागि महँगो शुल्क तिर्नुपरेको जनगुनासो बढिरहेको बेला नेपाल निगमले विभिन्न एयरलाइन्ससँगको समन्वय गरेर ट्रान्जिट बनाएर यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्था गरेको हो ।
निगमको जहाज जाने ठाउँसम्म आफ्नै जहाजबाट र त्यहाँबाट अन्य गन्तव्यमा जाने गरी व्यवस्था मिलाएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । तत्कालका लागि १० वटा गन्तव्यमा नेपाल एयरलाइन्सको टिकटबाट यात्रा गर्न पाउने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।
सम्झौताअनुसार काठमाडौं–बैंकक–सिओलमा नेपाल एयरलाइन्स र थाई एयरवेज, काठमाडौं–बैंकक–सिड्नी नेपाल एयरलाइन्स र थाई एयरवेज, काठमाडौं–बैंकक–टोकियो नेपाल एयरलाइन्स र निपोन एयरलाइन्स, काठमाडौं दोहा–कुवेत नेपाल एयरलाइन्स र कुवेत एयरवेज,काठमाडौं–दुबई–कुवेत नेपाल एयरलाइन्स, कुवेत एयरवेज, काठमाडौं –दुबई –जुरीच नेपाल एयरलाइन्स र इमिरेट्स एयरलाइन्सले यात्रु लैजाने छन् ।
यस्तै नेपाल एयरलाइन्सले इमिरेट्स एयरलाइन्ससँगको समन्वयमा काठमाडौं–दुबई–लण्डन, काठमाडौं–दुबई–फ्रान्कफर्ट, काठमाडौं–दुबई– पेरिस र काठमाडौं–दुबई–बहराइनको उडान गर्ने गरी सहमति गरेर उडान सुरु गरिएको कार्यकारी अध्यक्ष अधिकारीको भनाइ छ ।
विभिन्न एयरलाइन्ससँगको समन्वयमा ट्रान्जिट बनाएर यात्रु ओसारपसार गर्ने व्यवस्था गर्दा एयरलाइन्सको टिकट १० ठाउँमा खोज्नु पर्ने झन्झट हट्नुको साथै भाडा पनि केहि सस्तो हुनेछ । तर, एयरलाइन्सले भाडा भने सार्वजनिक गरेको छैन । विदेशी एयरलाइन्सले बेला बेलामा भाडा बढाउने र घटाउने गरिरहने भएकोले मूल्य सार्वजनिक नगरिएको निगमको भनाइ छ ।
ट्रान्जिट बनाएर यात्रुहरु ओसारपसार गर्दा नेपाल एयरलाइन्सले पनि यात्रु नपाउने भन्ने समस्या नहुने र पर्यटकहरुको पनि आगमन बढ्ने अपेक्षा मन्त्रालयले लिएको छ । त्यति मात्र हैन, अध्ययन र रोजगारीका लागि जाने नेपालीहरुलाई समेत सहज हुने भएको छ । निगमले केन्द्रीय कार्यालयबाट टिकट काट्न सुरु गरिसकेको जनाएको छ ।