काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिरो गएको छ । यो साता ३ दिन सेयर कारोबार भएकोमा ३ दिनै बजार सूचक घटेको छ । बिहीबार ५९.५७ अंकले बजार सूचक घटेर २६९०.२९ अंकमा रोकिएको छ ।
कारोबारको सुरुमा बढ्ने संकेत गरे पनि उच्च दरले घट्ने र न्यून दरमा बढ्ने गर्दै अन्तिम समयमा ठूलो अंकको गिरावट आएर मध्य समयकै विन्दुमा बजार सूचक रोकिएको हो । तिहार सकिएपछि खुलेको बजार निरन्तर घट्दा लगानीकर्ताहरु अन्यौलमा परेका छन् ।
खास गरी नेपाल राष्ट्र बैंकको प्रथम त्रैमासिक मौद्रिक समीक्षाको पर्खाइ, बढ्दो ब्याजदरको त्रास, वित्तीय क्षेत्रमा तरलता लगानीयोग्य रकम अभावको अवस्था जस्ता कारण देखाउँदै निरन्तर बजार ओरालो लागिरहेको छ । खासगरी लगानीकर्ताले मौद्रिक नीतिको समीक्षापछि सेयर धितोकर्जामा पुनरावलोकन हुने आशा राखेका छन् ।
मौद्रिक नीतिमार्फत एकल ग्राहकअन्तर्गत सेयरधितो कर्जालाई ४ र १२ करोड रुपैयाँमा सीमित गरेपछि केही लगानीकर्ताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । तर, अहिलेको बजारमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन नसक्ने अवस्था सिर्जना हुनु नै सेयर बजारका लागि पनि घातक सिद्ध भएको छ ।
अर्कोतिर राष्ट्र बैंकले प्रत्येक पटक अधिकतम १० प्रतिशतका दरले ब्याजदर बढाउने पाउने व्यवस्था गरेका कारण बैंक तथा वित्तीय संस्थाहरुले मंसिरमा फेरि निक्षेपको ब्याज बढाएर १० प्रतिशतभन्दा माथि पुर्याउने हुन कि भन्ने चिन्ता व्यक्त गरिरहेका छन् । निक्षेपको ब्याजदर बढ्नु भनेको बैंकहरुको लागत बढ्नु हो ।
बैंकहरुको लागत बढेसँगै बैंकको आधार ब्याजदर बढ्छ । आधार ब्याजदर बढ्दा स्वभाविक रुपमा कर्जाका पनि ब्याजदर बढ्छ । यसको दबाब सेयर बजारमा परेको भान हुन्छ । यद्यपि लगानीकर्ताका लागि ब्याजदर भने ठूलो कुरा हैन । मूल्य अभिवृद्धि चाहाने लगानीकर्ताले बढेको ब्याजदरभन्दा सेयर मूल्यमा आउने परिवर्तनबाटै राम्रो कमाइ गर्न सक्छन् ।
भदौ २ गतेको उच्च विन्दु ३१९९ बाट झरेको सेयर बजार सूचक २४८१ विन्दुसम्म पुगेको थियो । त्यसपछि विस्तारै उक्लिएको बजार सूचकले कात्तिक १७ गते २८७८ विन्दुसम्म पुगे पनि त्यसपछि निरन्तर घट्दै आएको छ । यसबीचमा पछिल्लो उच्च विन्दुबाट १८८ अंकले बजार सूचक झरिसकेको छ ।
लगानीकर्ताको मनोभाव सेयर सूचकमा देखिएको उतारचढाव र तरलता अभावको प्रभाव जस्ता कारणले आगामी साता पनि बजार ओरालो लाग्ने संभावना छ । यसमाथि कम्पनीहरुको साधारणसभाका लागि बुक क्लोजका कारण मूल्यमा आउने परिवर्तनले बजार सूचकलाई अझ तल लैजान सहयोग गर्नेछ ।
यद्यपि यसअघि नाफा बुक गरिसकेका लगानीकर्ताहरु बजार प्रवेश गरेको खण्डमा बजारले थप उचाइ लिन पनि सक्नेछ । तर, अहिलेकै परिस्थितिमा सो संभावना निक्कै न्यून छ । बिहीबार १६ कम्पनीहरुको मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ । बजारमा बढी चलखेल गरिने कम्पनीका रुपमा रहेका आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
मंगलबार पनि यी दुई कम्पनीमा नकारात्मक सर्किट लागेको थियो । सोमबार भने यी दुई कम्पनीको घटेर कारोबार भइरहेकोमा अन्तिम समयमा एकाएक सकारात्मक सर्किट लगाइएको थियो । त्यसपछि मूल्य घट्ने कम्पनी रहेको शिवश्री हाइड्रोपावरको ७.३९ प्रतिशतले ओरालो लागेको छ ।
उता थोरै कम्पनीको सेयर मूल्य बढ्दा पनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कुल ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै ४७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।