विराटनगर । विराटनगरको रानीमा सञ्चालित रघुपति जुटमिल ७५ वर्ष पुगेको छ । मिल सञ्चालनको ७५ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाइएको छ । एक वर्षसम्म विभिन्न कार्यक्रम गरेर हीरक जयन्ती मनाउने उद्योगले जनाएको छ ।
७५ वर्षसम्म आइपुग्दा उद्योगले निकै उतार चढावहरू भोगेको छ । सरकारी नीति नियमदेखि उद्योग सञ्चालनमा आइपरेका समस्याहरूलाई समाधान गर्दै आजसम्म उद्योग निरन्तर सञ्चालनमा छ ।
कोरोना महामारीमा पनि उद्योग निरन्तर सञ्चालनमा रह्यो । केही महिना मात्र बन्द भएको रघुपतिले उद्योग परिसरमा नै मजदुरलाई खाने बस्ने व्यवस्था गरेर सञ्चालन गरेको थियो । उद्योगका प्रशासन प्रमुख श्याम आचार्यका अनुसार कोरोनाको समयमा २२ सय मजदुरलाई खाना र बस्नको व्यवस्था मिलाएर सञ्चालन गरिएको थियो ।
त्यसबेला अन्य उद्योगमा काम गर्ने मजदुरले जागिर गुमाउनु परेको थियो । कोरोनाको विषम परिस्थितिमा पनि रघुपति जुट मिल्सले मजदुरलाई निकालेन । निरन्तर काममा लगाइरह्यो ।
नेपालमा उद्योगहरू खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । देशकै पुरानो विराटनगर जुटमिल बन्द भइसकेको छ । नेपालमा खुलेकामध्ये अधिकांश उद्योगहरूको आयु लामो समयसम्म हुने गरेको छैन । आयु लामो हुने मध्येको एक हो रघुपति जुट मिल । जुन उद्योग हजुरबुबाको पालादेखि नातिपुस्तासम्म निरन्तर सञ्चालन भइरहेको छ ।
उद्योगको इतिहास
विराटनगरको रानीमा अवस्थित रघुपति जुटमिलको स्थापना २००३ साल भदौ ७ गते उद्योगपति रामलाल गोल्छाले गरेका थिए । सम्भावनाको खोजी गर्दै नेपाल छिरेका रामलाल विराटनगरलाई कर्मथलो बनाउन सुरु गरे । गोल्छाको सक्रियतामा जुटमिल स्थापना भएको हो । रामलाललाई उनका छोरा हुलासचन्द र हंशराजले उद्योगलाई अगाडि बढाउन साथ दिए । गोल्छाको सक्रियतामा उद्योग स्थापना भए पनि सरकारको समेत लगानी रहेको थियो ।
त्यसबेला रामलाल गोल्छाले कम्पनीमा ६ लाख रुपैयाँ लगानी गरेका थिए । नेपालमा उद्योग स्थापना गर्न रामलालको प्रमुख हात छ । तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा रहँदा २०४९ सालदेखि तीन वर्ष जति रघुपति जुटमिल बन्द भएको थियो ।
२०५२ सालमा गोल्छा अर्गनाइजेसनले मिलको ६५ प्रतिशत सेयर खरिद गरेर चलाउन थालेपछि भने निरन्तर सञ्चालन भइरहेको छ । गोल्छा अर्गनाइजेसनले २०५२ सालमा ८ करोड २० लाख रुपैयाँमा तीन किस्तामा चुक्ता गर्ने गरी ६५ प्रतिशत सेयर सरकारबाट खरिद गर्यो ।
२००४ सालदेखि लामो समयसम्म विराटनगरको मिल्स एरिया राजनीतिक, आर्थिक, औद्योगिकलगायत हिसाबले देशकै अग्रणी स्थानको रूपमा परिचित छ । विराटनगर जुटमिल, मोरङ सुगर मिल, गणपति कटन मिल, अशोक टेक्सटायल, हुलास मेटललगायत दर्जनौं उद्योगहरू सो क्षेत्रमा सञ्चालनमा थिए । तर, अहिले त्यहाँ रघुपति जुटमिल मात्रै जीवित छ । अरू उद्योग भने बन्द भइसकेका छन् ।
उत्पादन क्षमता दाेब्बर वृद्धि
गोल्छा अर्गनाइजेसनले सेयर खरिद गरेर आफ्नो व्यवस्थापनमा सञ्चालन गर्न थाल्नुभन्दा पहिले रघुपति जुटमिलको उत्पादन क्षमता दैनिक ३० टन मात्रै थियो । पछि उत्पादन क्षमतामा वृद्धि भयो । उत्पादन क्षमता वृद्धि गर्नुका साथै उद्योगले थप मजदुरलाई रोजगारी पनि दियो ।
उद्योगले उत्पादन क्षमता ६० टनसम्म पुर्यायो । अहिले भारतीय उत्पादनसँग कडा प्रतिस्पर्धा गर्नुपर्दा हाल दैनिक ५० टनमात्रै जुट उत्पादन भइरहेको सञ्चालक राजकुमार गोल्छाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारको प्रतिकूल अवस्था, भारत सरकारले नेपालका जुट उद्योगबाट उत्पादित वस्तुमा लगाउने गरेको एन्टी डम्पिङ ड्युटीका बाबजुद रघुपति जुटमिल निरन्तर चलिरहेको गोल्छाको भनाइ छ । सञ्चालक राजकुमारका अनुसार पैतृक व्यवसायलाई छाड्न नसकेर प्रतिकूल अवस्थाका बाबजुद पनि निरन्तर चलाउँदै आएको हो ।
उद्योगमा ३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । जुटमिल नियमित चल्नुमा सञ्चालक, व्यवस्थापक, ट्रेड युनियन र उद्योगमा कार्यरत मजदुरहरूको सकारात्मक भावनाको कारणले सम्भव भएको सञ्चालक गोल्छा बताउँछन् । मजदुर–कर्मचारीको पारिश्रमिक र ज्यालामा मात्रै जुटमिलले मासिक ४ करोड रुपैयाँभन्दा बढी खर्च गर्छ ।
लामो समयसम्म निरन्तर चलेर रघुपति जुटमिलले इतिहास बनाएको छ । यसमा सबैलाई श्रेय जाने गोल्छाको भनाइ छ । औद्योगिक क्षेत्रका लागि यो एउटा इतिहासँगै गर्वको विषय भएको उनको भनाइ छ ।
उत्पादित जुट भारतमा निर्यात
उत्पादित जुटमध्ये ९५ प्रतिशतभन्दा बढी भारत निर्यात हुने गरेको सञ्चालक समिति सदस्य सोम अधिकारीले बताए । १५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ४० वर्षदेखि काम गर्ने मजदुर पनि रहेको उनको भनाइ छ । उनका अनुसार हजुरबुबा, छोरा र नाति सँगसँगै काम गर्नेहरू पनि जुटमिलमा छन् ।
इतिहास बोकेको उद्योग भएकाले घाटा सहेर भए पनि सञ्चालन गरिरहेको उनी बताउँछन् । उद्योगमा कार्यरतमध्ये ९५ प्रतिशत मजदुर नेपाली नै छन् । नेपाल–भारत सीमा नजिक भएकाले केही मात्रामा सीमा क्षेत्रका भारतीय नागरिकले पनि काम गर्न पाएको उनले बताए ।
नेपालमा कच्चा पदार्थको अभाव
मोरङ, सुनसरी र झापा जुट खेतीका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ । त्यही भएर रामलालले तत्कालीन अवस्थामा जुटमिल सञ्चालनमा ल्याउने निधो गरेका थिए र सोही उद्देश्यले जुट मिल्स सञ्चालनमा आएको थियो । उत्पादित कच्चा पदार्थ खरिद गरेर उद्योग सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा आएको उद्योगले अहिले बाहिरी देशबाट कच्चा पदार्थ ल्याएर जुट उत्पादन गरिरहेको छ ।
अहिले भारत र बंगलादेशबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन भएको प्रशासन प्रमुख आचार्यले बताए । नेपालको ३० प्रतिशत र बाँकी भारतबाट ल्याउने गरेको उनले बताए । बंगलादेशबाट पनि ल्याउने गरेको भए पनि दुई वर्षदेखि उक्त देशले आफ्नो उत्पादन नबेच्ने भनेपछि भारतबाट मात्र ल्याउने गरेको उनले जानकारी दिए ।
नेपालमा जुट खेती गर्ने किसानहरूलाई सरकारले प्रोत्साहन नगरेका कारण पनि पछिल्लो समयमा जुट खेती हराउँदै गएको छ । जसले गर्दा जुट उद्योगहरू पनि समस्यामा परेका छन् । भारतीय बजारबाट कच्चा पदार्थ ल्याउनु र उत्पादित जुट निर्यात गरेर भारतीय बजारसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने आचार्यको भनाइ छ ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्रै जुटमिल सञ्चालानमा छन् । यस क्षेत्रमा स्थापित ११ मध्ये आधा उद्योग बन्द भइसकेका छन् । हाल रघुपतिसहित अरिहन्त, बाबा, स्वस्तिक, मोरङ जुटमिल सञ्चालनमा छन् ।
संरक्षणको पखाईमा जुट उद्योग
भारतमा जुट उद्योगलाई राज्यले नै संरक्षण गरेको छ । उद्योगका सञ्चालक समिति सदस्य अधिकारी वातावरणमैत्री, मजदुरमैत्री र निर्यातमूलक उद्योग भएकाले जुट उद्योगलाई राज्यले नै संरक्षण गर्नुपर्ने बताउँछन् । कृषिमा आधारित उद्योग भएकाले यस्ता उद्योगको संरक्षणमा राज्य लाग्दा मुलुकलाई फाइदा पुग्ने उनको धारणा छ ।
जुटमिलका कारण आसपासका पसल, बोर्डिङ, होटल, चियानास्ता पसल राम्ररी चलेको छन् । एउटा उद्योग बन्द हुँदा आसपासको क्षेत्रलाई कतिसम्म असर पर्छ भन्ने कुरा विराटनगर जुटमिल बन्द हुँदा वरिपरिको क्षेत्रमा परेको असरलाई हेर्दा हुने उनको भनाइ छ । उद्योगमा काम गर्ने मजदुरकै कारण रघुपति जुटमिल वरिपरि मात्रै दर्जनौं पसल चलेको उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा सीभीडीबापतको रकम फिर्ता, एन्टी डम्पिङ ड्युटीको खारेजीलगायतका विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहल गरेको बताइए पनि हालसम्म पनि उक्त समस्या समाधान भएको छैन । यति समस्या समाधान भयो जुट उद्योग निरन्तर सञ्चालन भइरहने अधिकारीले बताए ।