काठमाडौं । काउन्टरमा पुगेको चेकसमेत साट्न नसक्ने अवस्था आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु निक्षेप दिन अनुरोध गर्दै व्यवसायीहरुलाई फोन गर्न थालेका छन् । उद्योगी व्यवसायीले काम विशेषले सीईओहरुलाई फोन गर्ने बित्तिकै उनीहरुले निक्षेप दिएर सहयोग गर्न आग्रह गर्न थालेका छन् ।
बैंकका सीईओहरुले मुख नै खोलेर निक्षेप मागेको अहिलेसम्म थाहा नभएको एक उद्योगीले बताए । ‘बैंकका कर्मचारीले निक्षेप दिन यसअघि धेरै पटक आग्रह गर्थे । तर, अहिले बैंकका सीईओहरु नै निक्षेप उठाउन सकिन्छ कि भनेर लागेका छन्,’ ती उद्योगीले भने, ‘यसबाट पनि थाहा हुन्छ, बैंकमा लगानीयोग्य रकमको चरम अभाव छ ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको पहिलो चार महिनामै ३२ प्रतिशत कर्जा प्रवाह भएकाले बजारमा लगानीयोग्य रकमको चरम अभाव भएको स्वीकार गरेका छन् । बैंकहरुले घाँटी हेरेर हाड ननिलेकाले यस्तो समस्या आएको बताएका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.८७ प्रतिशत पुगेको छ ।
सीईओले आफूसँग निकट सम्बन्ध भएका उद्योगी/ व्यवसायीलाई फोन गर्दै निक्षेप दिन अनुरोध गरिरहेका छन् । अहिले एउटै उद्योगीलाई दिनको तीनदेखि चार जना सीईओको फोन आउन थालेको छ । बैंकमा लगानीयोग्य रकमको चरम अभाव हुँदा बैंकको काउन्टरमा पुगेको १ करोड रुपैयाँको चेक साट्नसमेत बैंकहरुले आनाकानी गरिरहेका छन् ।
अहिले प्रणालीमा १३ अर्ब रुपैयाँ मात्रै लगानीयोग्य रकम छ । एउटा बैंक तथा वित्तीय संस्थासँग ५० करोड रुपैयाँ पनि लगानीयोग्य रकम छैन । यस्तो अवस्थामा बैंकहरुले करोडको चेक काउन्टरमा पुग्दा आत्तिने अवस्था आइसकेको छ ।
बैंकमा निक्षेप संकलन हुनै छाडेपछि बैंकरहरु निक्षेप संकलनका लागि दौडिन थालेका छन् । धेर थोर निक्षेप ल्याउन सकिन्छ कि भनेर आफ्नो पीआर प्रयोग गर्न बाध्य भएको बैंकरले बताए ।