काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङ मार्ग निर्माण गर्न ४० अर्ब रुपैयाँ लाग्ने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले सार्वजनिक गरेको पूर्व संभाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी) ले सुरुङमार्ग बनाउ सो रकम लाग्ने अनुमान गरेको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले यो अनुमानित लागत मात्र हो । वास्तविक लागत डीपीआर तयारपछि मात्र यकिन हुनेछ ।
मंगलबार सडक विभागका उच्च अधिकारी र जाइकाको परामर्शदाता टोलीबीच सुरुङ मार्ग निर्माण सम्बन्धमा छलफल भएको थियो । सो छलफलमा जाईकाले लागत रकमसहितको प्रि फिजिबिलिटी स्टडी प्रस्तुत गरेको हो । उक्त कुरामा सडक विभाग सकारात्मक रहेको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक रामहरि पोखरेलले बताए ।
‘जाइकाको कन्सल्ट्यान्ट टोलीको कुरामा हामी सकारात्मक छौं । ३५÷४० अर्ब रुपैयाँको आयोजना हो, अध्ययन र निर्माण गर्न समय त लाग्छ, सन् २०३१ सम्म सम्पन्न गर्न आग्रह गरेका छौं’, क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘हामीले जाइकालाई भनेका छौं, खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माणका लागि अरूलाई अनुरोध गर्दैनौं, तिमीहरूसँग नै आशावादी छौं भनेर ।’ उपमहानिर्देशक पोखरेलका अनुसार सडक विभागले सुरुङमार्ग सन् २०३१ सम्ममा निर्माण सम्पन्न गर्न अनुरोध गरेको हो ।
जाइकाले गरेको प्रारम्भिक अनुमानअनुसार ७.८ किलोमिटर सुरुङ र १.५ किमी सडक निर्माण गर्नुपर्ने छ । हाल सार्वजनिक भएको अध्ययन प्रारम्भिक मात्रै रहेकाले अहिले नै जाईकाले सुरुङ निर्माण गर्न तयार भएको नबुझ्न पोखरेलले आग्रहसमेत गरेका छन् । जाइकको कुरामा विभाग सकारात्मक रहेकाले थप अध्ययन गर्न आग्रह गरेको छ । थप अध्ययन भएपछि मात्रै जाइकाले सुरुङ निर्माण गर्ने इच्छा देखाएमा सरकार र जाइकाबीच निर्माणका लागि सम्झौता हुन्छ ।
बनेपा–सिन्धुली–बर्दिबास बीपी राजमार्ग जाईकको अनुदान सहयोगमा निर्माण भएको हो । खुर्कोट–चियाबारी सुरुङ मार्ग बीपी राजमार्गमा पर्ने भएकाले सुरुङको निर्माण पनि जाईकाले नै गर्ने सम्भावना रहेको पोखरेलको भनाइ छ । ‘बीपी राजमार्ग जाइकाले नै बनाएको हो, त्यो बाटोको उसलाई माया छ । अरूलाई बनाउन दिँदैन होला तर, अहिले हामी आफैं गर्छौं भनिसकेको छैन’, उनले भने ।
बीपी राजमार्गमा सुरुङ मार्ग र सडक गरेर करिब १० किमी निर्माण हुन्छ । सुरुङ मार्ग बनेपछि २५ किमी बाटो छोटो हुने पनि जाईकाको अध्ययनले देखाएको छ । खुर्कोटबाट सिन्धुली पुग्न ३९ किलोमिटर पर्छ । सुरुङ बनेपछि लम्बाइ घट्नुका साथै पेट्रोलियम पदार्थको खपतमा पनि कमी आउनेछ । २६ अर्ब जापानी येन लगानी भएको सो राजमार्गको लम्बाई धुलिखेलदेखि बर्दिबाससम्म १६० किलोमिटर छ ।
राजधानीबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने सो राजमार्ग २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । सडक विभागले खुर्कोट–चियाबारी सम्भाव्यता अध्ययनका लागि १० महिनाभित्र सक्ने गरी २०७४ कात्तिक २३ गते ठेक्का लगाएको थियो । उक्त सम्भाव्यता अध्ययन २०७६ मा सकिएको थियो । फेरि जाइकाको कन्सल्ट्यान्टले सुरुङ मार्ग अध्ययन गरेको हो ।
सम्भाव्यता अध्ययनमै किन धेरै समय लाग्यो ? भन्ने प्रश्नमा योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक एवं सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘सुरुङ मार्ग निर्माणका लागि अध्ययन धेरै गर्नुपर्छ, सुरुङमा जमिन मुनिको अध्ययन गर्नुपर्ने भएकाले अहिले नै समय बढी लाग्छ, बरु निर्माणको काम सुरु भएपछि धेरै समय लाग्दैन ।’
बीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पका रूपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको हो । प्रत्येक वर्ष बजेटमा चियाबारीदेखि खुर्कोटसम्मको सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि हालसम्म उलेख्य प्रगति भने हुन सकेको छैन ।