कास्की । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ ।
बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा १ सय १० रूपैयाँ कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । उनका अनुसार सोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ ।
यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश मार्गमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा वृद्धि गरेको थियो । गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐनबमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागू हुने बताइएको छ ।
यसैगरी पोखराबाट टुसे ग्राउण्ड मार्गमा पृथ्वी राजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर १ सय रूपैयाँ कायम गरिएको र सोहीअनुसार सो मार्गको अन्य स्थानको भाडासमेत समायोजन गरिएको गाउँपालिकाले जनाएको छ । “भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुबीच विवाद हुने गरेको थियो ।
अहिले गाउँपालिकाभित्रका मुख्य मार्गको अधिकतम भाडा तोकेका छौँ”, प्रवक्ता शाहीले भन्नुभयो, “छलफलका आधारमा पुनः यसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गर्नेछौँ ।”
यसैगरी आगामी मंसिर १ देखि विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी बिहान ५ः०० बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयमा बिहानी तथा दिवासत्रका विद्यार्थीलाई मध्यनजर गरी मंसिर १ गतेदेखि वडा नं १ को टुसे ग्राउण्डबाट घाचोक हुँदै पोखरा, वडा नं ५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नं ८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी सङ्ख्याका आधारमा बिहान ५ः०० बजेदेखि पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिए ।
गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलब्ध गराउन बस कम्पनी सहमत भएका छन् । रासस