काठमाडौं । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम सुरु गरेको ३३ वर्षमा भौतिक प्रगति ५६.३८ प्रतिशत मात्रै भएको छ । वर्ष भरी निर्माण गर्न नपाउदा ३ दशक बिते पनि उल्लेख्य प्रगति नभएको आयोजनाले जनाएको छ । बबईलाई अबको ४ वर्ष ८ महिनामा बाँकी ४३.६२ प्रतिशत निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय तोकिएको छ ।
उक्त अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ । तर, आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनी आर्थिक वर्ष ०८२/०८३ मा आयोजना सम्पन्न हुन्छ भन्नेमा ढुक्क छैनन् । ‘हाम्रो उद्देश्य अब म्याद नथप्ने हो, त्यहिअनुसार चालु आर्थिक वर्षयता मात्रै ६/७ वटा ठेक्का आह्वान गरी सकेका छौं र अरु तयारी पनि हुँदैछ ।’ उनले भने, ‘अरु बाधा कतिको पर्छ र काम गर्ने प्राविधिक कस्ता पर्छन् भन्ने कुराले पनि प्रभाव पार्छ ।’
त्यस्तै बजेट अभावका कारणले गर्दा पनि निर्माण कार्यले तिव्रता पाउन सकेको थिएन । सूचना अधिकारी घोरासैनीले भने, ‘बबईलाई राष्ट्रिय गौरवको आयोजना नबनाउदासम्म सरकारले पर्याप्त बजेट छुट्याएको थिएन । थप बजेट पनि सहजै नपाउने अवस्था थियो । राष्ट्रिय गौरवको आयोजना बनेपछि त्यो समस्या हटेको छ । पहिला काम ढिला हुँदा त्यसको असर अहिले पनि परेको हो ।’ बबई सिँचाइ २०७१ सालबाट राष्ट्रिय गौरवको आयोजनामा समेटिएको होे ।
त्यस्तै आयोजनाको वित्तीय प्रगति ५२.३२ प्रतिशत रहेको छ । उक्त प्रगति आर्थिक वर्ष ०७७/०७८ असार मसान्तसम्मको हो । कुल १८ अर्ब ९६ करोड ४४ लाख ३० रुपैयाँ लगातको गुरुयोजना रहेकोमा हालसम्म आयोजनामा ९ अर्ब ९२ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । उक्त रकमबाट आयोजनाको हेडबक्स र एउटा मुल नहर ७९.६ किलोमिटर निर्माण भएको छ ।
त्यस्तै शाखा/प्रशाखा नहर २०८ किमी, बाढीबाट क्षति पुगेको २१.९२ किमी संरचना मर्मत गरेको आयोजनाले जनाको छ । ‘यहाँ आयोजनाको काम गर्दै नहरमा पानी पनि चलाउनु पर्ने भएकाले एक वर्षमा ५ महिनाभन्दा काम हुन पाउदैन । सामान्यतया पुस १५ देखि जेठ १५ सम्म काम हुन्छ । अन्य समयमा नहरमा पानी छोड्नुपर्छ, त्यसैले प्रगति कम भएको हो’ उनले भने ।
घोरासैनीका अनुसार नहरमा पानी बन्द गरेर निर्माण कार्य सञ्चालन गर्न मिल्दैन । आयोजना निर्माण सुरुगर्ने समयमा नै किसानलाई सिँचाइको आवश्यकता पर्ने समयमा नहरमा पानी छोड्ने सहमति भएको थियो । हाल उपभोक्ता समितिले नहरमा पानी सञ्चालन तथा बन्द गर्ने निर्णय गर्ने गर्दछ । सोहि अनुसारनै आयोजनाले निर्माण कार्य सञ्चालन गर्छ ।
गत आर्थिक वर्षमा पूर्वि नहर निर्माण सम्पन्न भएको छ । आयोजनाले पूर्वि र पश्चिम गरी २ खण्डमा निर्माण कार्य सञ्चालन गर्दै आएको छ । ३४ किलोमिटर लम्बाइको पूर्वि नहर गत आर्थिक वर्षमा सम्पन्न भएको छ । पूर्वि नहर निर्माण सम्पन्न भए पनि शाखा÷प्रशाखाहरु विस्तार गर्ने काम भने निर्माणधीन अवस्थामा रहेका छन् ।
त्यस्तै ४३ किमी लम्बाई रहेको पश्चिम नहरको करिब २८ किमी नहर निर्माणधीन रहेको छ । बाँकी नहर निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि टेण्डर आह्वान भने भएको छैन ।
सो नहरबाट १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । निर्माण कार्य सम्पन्न भएपछि आयेजनाले बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनेछ । निर्माण सुरु भएको ३ दशकसम्म २३ हजार ६०० हेक्टर जमिनमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
बबईले आयोजना निर्माणको लागि २६० हेक्टर जग्गा अधिग्रहण गरेको छ । उक्त जग्गा अधिग्रहण गर्दा ५४ करोड ५६ लाख रुपैयाँ गत चैत १५ सम्म वितरण गरेको छ । आयोजनाले जग्गाको अनुमान नगरी आवश्यकताको आधारमा अधिग्रहण गर्दै मुआब्जा वितरण गर्दै आएको छ ।