लक्ष्मी पूजाको दिन वर्षभरीको सेल्स रिभ्यू हुन्छ । त्यस दिन सबै सेल्स म्यानेजरहरुलाई भेला गरिन्छ । त्यसपछि कम्पनीमा भएका सबै कर्मचारीहरुलाई मिठाई बाडिन्छ । मिठाईसँगै उनिहरुलाई दक्षिणा पनि साथमै दिइने गरिएको छ ।
पुँजाको लागि फ्याक्ट्रीलाई सजाइन्छ । त्यही बेला भव्य यज्ञ लगाइन्छ । पूजाकै दिन अर्को वर्षको योजना पनि बनाइन्छ । कसरी आफ्नो उत्पादनलाई प्रतिस्पर्धी बजारमा उत्कृष्ठ बनाउने र त्यसका लागि के के आवश्यक पर्छ,कर्मचारीले त्यसमा के भूमिका निर्वाह गर्ने र हाम्रो तर्फबाट के गर्नुपर्छ भन्ने विषयमा बृहत छलफल गरिन्छ ।
त्यहि बेला कर्मचारीहरुको गुनासो पनि सुन्ने गरिन्छ । लक्ष्मी पुँजाको दिन कम्पनीका अध्यक्षले पुरै समय कर्मचारीहरुसँग विताउने र उनिहरुको गुनासो,दुखका कुराहरु सुन्ने गरिन्छ । त्यहाँ सुनिएका र भनिएका गुनासोहरु,समस्याहरु पनि तत्कालै सम्बोद्धन गर्ने गरिन्छ । अरु बेला कुनै गुनासो र समस्या भए विभिन्न माध्यमबाट अध्यक्ष वा प्रबन्ध निर्देशककोमा पुग्नु पर्नेभएता पनि लक्ष्मी पुँजाको दिन तल्लो तहका कर्मचारीदेखि माथिल्लो लेभलका कर्मचारीहरुसँग अनुमति नलिई सिधै सम्बन्धीत व्यक्तिलाई भेट्न पाइन्छ । अर्थात,आफ्ना कर्मचारीहरुसँग एकदिन भरी अध्यक्ष र प्रबन्ध निर्देशकले समय विताउँदै उनिहरुको दुख र गुनासोहरु सुन्ने गरिन्छ ।
फ्याक्ट्रीमा पुँजा म आफै गर्छु र अरु व्यवसायमा बुबाले गर्नुहुन्छ । पुँजा गर्दा लगभग तीनदेखि चार घण्टाको समय लाग्छ । त्यो बेला तीनचार जना गुरुहरु(पण्डित)ले यज्ञ लगाउने गरिन्छ । खुल्ला यज्ञ हुने भएकोले उद्योग व्यवसायसँगै बाहिरका स्थानीयहरु पनि त्यो पुँजामा सहभागि हुन पाउछन् ।
योसँगै विश्वकर्मा पुँजामा हामी सहभागि हुँदैनौं र त्यो कर्मचारीहरुले नै गर्ने गरेका छन् । दशैमा फ्याक्ट्रीको म्यानेजरले पुँजा गर्छ भने लक्ष्मी पुँजा भने म आफैले मात्र गर्छु । लक्ष्मीलाई मान्छेहरुले धनलाई मात्र मानेको हुन्छ । तर,हामी भने लक्ष्मीलाई सुखको रुपमा लिन्छौं । सुख आउनलाई दुख गर्नुपर्छ,त्यसैले त्यो दिन अध्यक्षले आफ्ना मजदुरहरुलाई दुख भन्नलाई मौका दिने गर्छन् । कसैले केहि समस्या परेको छ, र परिवारमा समस्या परेको छ भने पनि सकेको सहयोग समेत गर्ने गरिन्छ । र कर्मचारीको बढुवा र पुरस्कृत पनि यहि दिन गर्ने गर्छौ ।
शर्मा सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक हुन् ।