काठमाडौं । विदेशी मुद्राको चाप परेको भनिरहेका बेला गत आर्थिक वर्षमा विदेशी साझेदार कम्पनीले लगेको लाभांश भने घटेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा विदेशी लगानी भएका कम्पनीहरुले २७ अर्ब ७८ करोड २९ लाख रुपैयाँ लाभांश लगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा यो लाभांश करिब ३० प्रतिशतले कम हो । त्यस वर्ष विदेशी कम्पनीले ३९ अर्ब ५३ करोड ४ लाख रुपैयाँ लगेका थिए ।
एनसेल पुँजीगत लाभकरको विवादमा फसेपछि रोकिएको दुई वर्षको लाभांश अघिल्लो आर्थिक वर्षमा एकै पटक लगेका कारण त्यस वर्ष बढेको देखिएको हो । यद्यपि, यो तथ्याङ्क कम्पनीको नाफा नोक्सान हिसाबबाट भन्दा पनि राष्ट्र बैङ्कबाट वार्षिकरुपमा वैदेशिक लगानीका साझेदारले लाभांशबापत लगेको रकमको हिस्सा हो ।
एनसेल पुँजीगत लाभकरमा मुछिएपछि केन्द्रीय बैङ्कले लाभांश रोकेको थियो । सर्वोच्च अदालतले लाभांश लैजाने बाटो खोल्दिएपछि बढी देखिएको हो । राष्ट्रबैङ्कका अनुुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब १२ अर्ब रुपैयाँ कम लाभांश लगेको देखिएको छ ।
राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष मोबाइल सेवाप्रदायक एनसेल प्रालिको कम भएका कारण समग्र लाभांश लैजाने दर घटेको देखिएको हो । एनसेलले आर्थिक वर्ष २०७५/०७६ मा १२ अर्ब ५४ करोड रुपैयाँ लाभांश लगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २३ अर्ब ५० करोड ५२ लाख ८० हजार रुपैयाँ लाभांश बाहिरिएको थियो । एनसेलको अघिल्लो वर्षको तुलनामा गत १० अर्ब ९६ करोड ५२ लाख रुपैयाँ लाभांश घटेको हो ।
नेपालमा विदेशी लगानी भएका कम्पनीमध्ये एनसेलले सबैभन्दा बढी लाभांश लैजाने गरेको छ । एनसेलले आर्थिक वर्ष २०७४/७५ मा दुई लट र २०७५/०७६ मा एक लट गरी भारतको रेनल्ड होल्डिङ कम्पनीलाई लाभांश पठाएको छ ।
अघिल्लो आव २०७४/०७५ मा विदेशी लगानी भएका २७ ओटा कम्पनीले लाभांश लगेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा २५ ओटा कम्पनीले लाभांश लगेका देखिएको छ । जसमा सबैभन्दा बढी लाभांश लैजाने कम्पनीमा एनसेलपछि सूर्य नेपाल छ ।
यस कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २९ करोड २२ लाख रुपैयाँ लाभांश लगेको छ । २०७४/०७५ मा सूर्य नेपालले ४ अर्ब १० करोड ६४ लाख रुपैयाँ लाभांश लगेको थियो ।
यस कम्पनीले ब्रिटिस अमेरिकन टोबाको कम्पनी, भारतको आईटीसी कम्पनीलाई लाभांश पठाएको छ । सूर्य नेपालले भने अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै १ अर्ब रुपैयाँ बढी लाभांश पठाएको छ । सूर्य नेपालले गत वर्ष चार लटमा र अघिल्लो वर्ष पनि चार लट गरी लाभांश पठाएको छ ।
गोरखा ब्रुअरी प्राइभेट लिमिटेडले ३ अर्ब ८२ करोड ७५ लाख ९५ हजार रुपैयाँ सिङ्गापुरको काल्सबर्ग साउथ एसिया प्रालिका नाममा लाभांश पठाएको छ । यस कम्पनीले अघिल्लो वर्ष ३ लट गरी लाभांश पठाएको थियो ।
गत वर्ष नर्वेको स्ट्याटक्राफ्टको बहुमत लगानी रहेको हिमाल पावर लिमिटेडले २ अर्ब ६९ करोड १३ लाख रुपैयाँ लाभांश लगेको छ । अघिल्लो वर्ष हिमाल पावरले २ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ लाभांश लगेको थियो । यस कम्पनीले स्ट्याटक्राफ्ट होल्डिङ कम्पनी सिङ्गापुर र नर्वेको कम्पनीलाई लाभांश पठाएको छ ।
युनिलिभर नेपाल लिमिटेडले अघिल्लो वर्ष ८८ करोड ८२ लाख रुपैयाँ लाभांश पठाएको छ । यसले गत वर्ष पठाएन । यस कम्पनीले हिन्दुस्तान युनिलिभर लिमिटेडका नाममा लाभांश पठाएको छ ।
त्यस्ता लाभांश पठाउने कम्पनीहरुमा द नेपाल डिस्टिलरी, एसियन पेन्ट्स, नबिल बैङ्क, पावर ट्रान्समिसन कम्पनी, नेपाल बङ्गलादेश बैङ्क, एनएमबी बैङ्कलगायतका कम्पनी छन् ।