पोखरा । (रासस) तिहारको रमझम शुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिगार्ने पर्व तिहारमा फुलको व्यापार गर्नेहरु शहरबजारका चोक चोक र गल्लिमा फुलका थुङ्गा र मालाहरु निकै आकर्षक रुपमा सजाएका छन् ।
हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फुलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितनवका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल खेती गरेका छन् ।
समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचका साथ कृषिकर्ममा लागेका तीन युवाले तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा निरन्तरता दिएका हुन् । डेढ करोडको लागतमा ६० रोपनी जग्गा भाडामा ुिलएर कृषि कर्ममा लगाएका युवाहरुले अहिले तीन रोपनीमा मखमली र ७ रोपनीमा सयपत्री फूल उत्पादन गरेर विक्री वितरण शुरु गरेका छन् । यमपञ्चक शुरुसँगै अहिले फार्ममा फूल खरिदका लागि ग्राहक पुग्ने गरेका छन् ।
एउटै सोच र एउटै लक्ष्यका साथ पाइला चालेका पोखरा सिम्पानीका मानव कल्याण पराजुली र मालेपाटन मदन पौडेल, चितवनका सचिन भण्डारी साढे दुई वर्षदेखि संयुक्तरूपमा फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्मलाई सञ्चालनमा ल्याएका छन् । सो फार्ममा अहिले तिहारे फूल अर्थात् सयपत्री फूल र मखमली फुल ढकमक्क फुलेको छ ।
यमपञ्चक शुरु भएसँगै अहिले उनीहरुको व्यस्तता पनि निकै बढेको छ । तिहारको मुखमा बढ्दो सयपत्री फूलको मागलाई व्यवस्थापन गर्न र लगानीलाई मुनाफामा परिणत गर्न युवाहरु आफ्नो जिम्मेवारी वहन गर्न व्यस्त रहेका छन् । एग्री बिजनेसमा एमबीए गरेका युवा मदन पौडेलले तिहारे फूलको लागि वर्षनी करौडौ रुपैया भारत जाने समाचारले दुखी बनाएको भन्दै व्यावसायिक फूल खेतीमा जोड दिएको बताए । उनले भने “आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने फुलमा पनि हामी परनिर्भर छौ, सबैले प्रयास गरे यो रकम देशमै रोक्न सकिन्छ ।” उनले वर्षेनी बाहिरिने रकमलाई केही मात्रामा भए पनि देशभित्रै जोगाउने प्रतिवद्धता साथ व्यावसायिक फुल खेती गर्दै आएको बताए ।
बीबीए गरेर कृषिकर्ममा लागेका अर्का युवा मानवकल्याण पराजुलीले चार लाख रुपैयाँको लगानीमा १० हजार फूलका बेर्ना सारेको भए पनि यसपाली बेमौसमी वर्षाले गर्दा सबै बेर्ना जोगाउन नसकेको बताए । उनले भने, “यसपाली फुलको बेर्ना भारी वर्षाका कारण जोगाउनै समस्या भयो, फूलको इन्स्योरेन्स पनि रहेनछ ।” पराजुलीले कृषिको अन्यमा जस्तै प्लोरिकल्चरको पनि इन्स्योरेन्स व्यवस्था हुनुपर्ने बताए । “प्लोरिकल्चरमा इन्स्योरेन्सको व्यवस्था भयो भने आगामी दिनमा व्यवसायिक फुल प्रति पनि कृषकको आर्कषण अझै बढ्ने थियो” पराजुलीले भने ।
पराजुलीका अनुसार सयपत्री फूलको मालाको साइज हेरेर १५० देखि ३०० रुपैयाँ सम्म बिक्री भइरहेको गरिएको छ । त्यसैगरी एक किलोको फूलको पाँचसय देखि ६ सय रुपैयाँसम्म थोक तथा खुद्रा विक्री गरिएको छ ।
मखमली फूलको भने ५० देखि एक सय रुपैयाँसम्ममा विक्री गरिएको छ । फुलको माला बनाउनको लागि फार्ममा केही महिलालाई ज्यालादारी काममा लगाइएको पराजुलीले बताए ।
सरकारले प्रविधिमैत्री कृषि प्रणालीमार्फत कृषि पेशाप्रति युवालाई आकर्षित गर्न सके देश छिट्टै समृद्धिको बाटोमा जाने अर्का युवा सचिन भण्डारी बताउँछन् । हर्टिकल्चरमा स्नातक गरेका भण्डारीले देशका युवामा कृषि प्रतिको दृष्टिकोणनै सकारात्मक बन्न नसकेको बताए । “हाम्रो देशको माटो कृषिका लागि उर्वर मानिन्छ तर कृषिप्रति युवाको रुची बढ्न सकेको छैन भने सरकारले पनि त्यसता कार्यक्रम ल्याएको छैन ।” उनले सबै मिलेर बाँझो जमीनलाई हराभरा गराउने सके कृषिजन्य आयातित वस्तुलाई विस्थापन गर्न समय नलाग्ने बताए ।
भण्डारीका अनुसार अहिले फार्ममा सयपत्री र मखमली फूलसँगै मेवा, कुरिलो, धानखेती, माछापालन र मौसम अनुसारको तरकारीको खेती गरिएको छ । उनले यसपालि अन्य किसानलाई पनि व्यावसायिक फूलखेतीमा प्रोत्साहित गरेर त्यसको बजार व्यवस्थापनको जिम्मा समेत आफूहरुले लिएर बताए । “फूल आयातको लागि विदेशीने रकम रोक्न हामीले आसपासका फार्ममा फूल खेती गर्न अन्य किसानलाई प्रोत्साहित गर्यौ, त्यसको बजार व्यवस्थापनको जिम्मा पनि हामीले लिएका छौ ।” उनले फूल भण्डारणको लागि पनि आफूहरुसँग चिस्यानाकेन्द्र रहेको जानकारी दिए ।