काठमाडौं । यमपञ्चकको पहिलो दिन निकै उतार चढावकाबीच ५.२२ अंकले बढेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८४८.८४ अंकमा पुगेको छ । कात्तिक लागेसँगै बैंकहरुले बढाएको व्याजदरका कारण घटेको सेयर बजार राष्ट्र बैंकको हस्तक्षेपपछि निरन्तर वृद्धि हुँदै आएको छ । राष्ट्र बैंकको हस्तक्षेप अघि दुई दिन लगातार बजार सूचक घट्दा करिब १४६ अंक झरेको थियो ।
राष्ट्र बैंकले बढेको व्याजदरमाथि हस्तक्षेप गरेसँगै २५१० मा रहेको सेयर बजार सूचक बीचमा दुई दिन सामान्य घटे पनि यमपञ्चकको पहिलो दिन बढेर बन्द भएको छ । यसपछि दुई कारोबार दिन बिहीबार र आइतबार सेयर बजार खुल्दैन ।
दसैं पछिका १४ कारोबार दिनमा बजार सूचक २०९ अंकले बढेको छ । दसैं अघिको अन्तिम कारोबारमा २६३९.३८ मा नेप्से रोकिएको थियो ।
यसबीचमा अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा लगानीकर्ताले मनग्य मूल्य अभिवृद्धि पनि पाएका छन् । खासगरी, वित्तीय बजारमा देखिएको तरलता अभाव, व्याजदरको दबाब, कर्जा विस्तारमा अंकुशलगायतले सेयर बजारलाई प्रभावित बनाउन खोजे पनि राष्ट्र बैंकको हस्तक्षेप र कठिन अवस्थामा पनि वित्तीय संस्थाहरुको नाफामा छलाङ देखिँदा सेयर बजारले उकालो यात्रा तय गरेको छ ।
बजार उकालो चढिरहँदा सामान्य घटबढ हुनुलाई चिन्ता मान्नुपर्ने अवस्था हुँदैन । यद्यपि, बजारमा तरलता अभावको स्थिति साम्य भइसकेको छैन । व्याजदर वृद्धिको होड सकिएको छैन । सूचीकृत कम्पनीहरुको लाभांश घोषणा र साधारणसभाका कारण हुने मूल्य समायोजनको प्रभावले केही असर गर्न सक्छ । त्यसले बजारलाई थप प्रभावित बनाउन सक्छ ।
अझ सेयर धितो कर्जाको समस्या सल्टिएको छैन । त्यही प्रकरणमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले बिना धितो अर्बौ ऋण लिएको हुनसक्ने आँकलन र त्यसमा केन्द्रीय बैंकले कडाई गर्ने सम्भावनाले तिहार पछि बजार प्रभावित बन्न सक्छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई लगानीकर्ताले सचेततापूर्वक ध्यान दिनुपर्ने छ । राम्रा कम्पनीहरु छनोट भएको अवस्थामा बजार घट्दा पनि लगानीकर्ता आत्तिनु पर्दैन् । तर, मूल्य अभिवृद्धि लिने बहानामा कमजोर कम्पनी छानिन पुगे गुमाउनुपर्ने अवस्था आउन सक्छ ।
बुधबार कारोबार रकम पनि ६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । मंगलबार ६ अर्ब रुपैयाँ थियो । सोमबार भने ७ अर्बमाथि कारोबार भएको थियो । बुधबार ७४ कम्पनीको मूल्य वृद्धि हुँदा १११ कारोबारको अन्तिम समयमा महालक्ष्मी विकास बैंक र आइसीएफसी फाइनान्समा सकारात्मक सर्किट लागेर बन्द भएको छ भने छ्याङ्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ५.५९ अंकले घटेको छ । उता बैकिङ समूहकै सबैभन्दा बढी लाभांश घोषण गरेको नबिल बैंकको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।