काठमाडौं । उचित भाडादर कायम हुन नसक्दा काठमाडौं महानगरले अघि सारेको रात्रि बस सेवा सञ्चालनको योजना अलपत्र परेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरले साउनबाट नै उपत्यकाभित्र रात्रि बस सेवा सञ्चालन गर्ने भने पनि भाडादर निर्धारणको टुङ्गो नलाग्दा योजना अघि बढ्न नसकेको हो ।
बढ्दो ट्राफिक जाम र यात्रुमैत्री सेवाका लागि भन्दै अघि सारिएको योजना अहिले अन्योलमा परेको हो । बेलुकी ८ बजेदेखि राती १२ बजेसम्म काठमाडौं उपत्यकाभित्र आवश्यकताअनुसार रात्रि बस सञ्चालन प्रक्रिया अहिले अघि बढ्न सकेको छैन ।
काठमाडौं महानगर, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच औपचारिक छलफल भए पनि कति भाडादर निर्धारण गर्ने भन्नेबारे काठमाडौं महानगरले अझै टुङ्गो लागि नसकेको बताउँदै आएको छ ।
यातायात व्यवसायीले सार्वजनिक यातायातले दिँउसोमा लिने भाडामा ५० प्रतिशत बढाए मात्रै रात्रिबस चलाउने अड्डी कसेपछि महानगरले प्रक्रिया छलफलमा रहेको बताएको छ ।
यातायात व्यवसायी, यातायात विभाग र महानगरबीच औपचारिक छलफल भए पनि भाडादर निर्धारण हुन नसक्दा तोकिएको समयमा रात्रिबस सञ्चालन गर्न नसकिएको काठमाडौं महानरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए ।
असारअघि रात्रिबस सञ्चालन कसरी गर्ने भनेर निरन्तर छलफल गरे पनि भाडादर कायम गर्न नसकिएको उनले बताए । यातायात व्यवस्था विभाग, व्यवसायी र महानगरबीच थप छलफल गरेर भाडादर छुट्टै टुंग्याउने उनको भनाइ छ ।
बेलुकी ८ बजेपछि सार्वजनिक बस सेवा बन्द हुने, बस पाइहाले पनि कोच्चिएर जानुपर्ने र सवारी नै नपाइने समस्या अहिले महानगरमा छ । त्यस्तो समस्या न्यूनीकरण गर्न महानगरले रात्रिबस सञ्चालनको अवधारणा ल्याएको हो ।
विगतमा रात्रिबस सेवा दिन साझालगायतका केही आधा दर्जन यातायात समितिले रुची देखाए पनि भाडामा कुरो नमिलेपछि अहिले विषय सेलाउँदै गएको देखिन्छ ।
काठमाडौं उपत्यकामा राती सञ्चालन गर्न आधारभूत संरचना तयार गर्नुपर्ने र दीर्घकालीन अध्ययन गर्नुपर्ने भएकाले केही समय लाग्ने यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले जानकारी दिए । उनले स्थानीय तह, यातायात व्यवसायी, ट्राफिक, रेष्टुरेन्ट व्यवसायीलगायत सर्वपक्षीय छलफल बोलाएर रात्रि बस सेवा प्रक्रिया अघि बढाइने बताए ।