विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा १५ करोड रुपैयाँ लगानीमा आर्या हस्पिटल अफ न्युरो सर्जिकल एन्ड अलायिड साइन्सेस प्रालि सञ्चालनमा आएको छ ।
लामो समयदेखि न्युरो सर्जरी सेवा प्रदान गर्दै आएका विराटनगर तीनटोलीका डा. पंकजराज नेपालसहित तीन जनाको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा डा. नेपालसहित अर्चना चौधरी र दिनेश ठाकुरको पनि लगानी छ ।
बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउन लागेको अस्पतालमा न्युरोसम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध हुने जनाइएको छ । अस्पतालका प्रवन्ध निर्देशक नेपालका अनुसार न्युरोसम्बन्धी, हार्ड जोर्नीसम्बन्धी, नाक कान घाँटीसम्बन्धी, दन्त चिकित्सकीय, जेनेरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियनसम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध रहेको छ ।
उनका अनुसार अस्पतालले फिजिओथेरापी सेवाहरु, आईसीयू तथा भेन्टिलेटर सेवा, सीटी स्क्यान, एमआरआईलगायत आवश्यक सम्पूर्ण सेवाहरु प्रदान गरिनेछ ।
अस्पताल २५ शैय्याको रहेको नेपालले जानकारी दिए । ‘अहिले हामीले २५ शैयाको अस्पताल बनाएको छौंं, उनले भने, ‘अब छिट्टै ५० शैय्याको पुर्याउँदै छौं । त्यसका लागि सामाजिक विकास मन्त्रालयमा निवेदन दिइसकेका छाैं ।’
अस्पतालमा अहिले १०० जनाले रोजगारी पाएका छन् भने अस्पताल ५० शैय्याको हुँदा २०० जनाले रोजगारी पाउने नेपालले बताए । अस्पतालमा मेडिकल टिम १५ जना र नर्स १२ जना रहेका छन् । आवश्यकताअनुसार जनशक्ति पनि थप्दै जाने उनले जानकारी दिए ।
अस्पतालका निर्देशक दिनेश ठाकुरले नयाँ प्रविधियुक्त अस्पताल रहेको बताए ।
अस्पतालले दिने सेवाको बारेमा अस्पताल प्रशासनले छुट्टै निर्देशिका तयार गरेको र जुन बिरामीमैत्री रहेको उनको भनाइ छ । ‘सबै विभागले बिरामीको उपचार गर्दा निर्देशिकाअनुसार नै उपचार पर्ने हुन्छ’, उनले भने, ‘यसलाई मेडिकल भनिन्छ, यस प्रणालीअनुसार उपचार गरेमा कुनै पनि बिरामी अनावश्यक आर्थिक भार तथा झन्झटबाट बच्न सक्छन् ।’
अस्पतालले केही समयमा नै स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकका लागि १ लाख रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्रदान गर्ने अस्पतालकी अध्यक्ष अर्चना चौधरीले बताइन् ।
कोही पनि स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनेर १० प्रतिशत शैया असहायका लागि छुट्याई निःशुल्क उपचार गर्ने लक्ष्य अस्पतालको रहेको चौधरीको भनाइ छ । अस्पतालले गुणस्तरी उपचारमा कुनै कमी नल्याउने अध्यक्ष चौधरीले प्रतिबद्धता जनाइन् ।