काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) रोक्नु ठीक नभएको बताएका छन् । उनले बिजुलीको भविष्यको माग पनि हेर्नुपर्ने भएकाले पीपीए रोकेर बस्नु ठीक नभएको स्पष्ट पारेका हुन् ।
मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले टाइम लाइनअनुसार पीपीए खोल्नुपर्ने बताए । नदी प्रवाही (रन अफ दी रिभर) आयोजनाको मात्र पीपीए रोकिएको तर, अर्धजालशय र जलाशय आयोजनाको नरोकिएको उनले स्पष्टपारे । पीपीए खुलाउने विषयमा अहिले ऊर्जा मन्त्रालयमा छलफल भइरहेको उनले सुनाए ।
कुल १५ हजार मेगावाटको पीपीए गर्ने भनिएकोमा रन अफ दी रिभर प्रकृतिका आयोजनाको कोटा सकिएकाले रोकिएको उनले स्पष्ट पारे । उनका अनुसार कुल १५ हजार मेगावाट मध्ये अर्धजालासयको ३५ प्रतिशत, जलासयको ३० प्रतिशत र बाँकी नदी प्रवाही आयोजनाको पीपीए कोटा मन्त्रालयले तोकेको हो ।
उनले अहिले ९ हजार मेगावाट क्षमताका २०० वटा आयोजनाको पीपीए लाइनमा रहेको बताए । त्यसमा १५० वटा आयोजना २५ मेगावाटभन्दा साना छन् । पीपीएको लाइनमा रहेका साना आयोजनाको जडित क्षमता ८०० मेगावाट मात्र रहेको र बाँकी सबै ठूला आयोजना भएको उनले स्पष्टपारे । नदी प्रवाही आयोजनाको पीपीए कसरी खुलाउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको उनले सुनाए ।
‘आज पीपीए गरेपछि आयोजना आउने भनेको ५ देखि ७ वर्ष लाग्छ । टाइम लाइनअनुसार ५ वर्षपछि, ७ वर्ष, १० र १५ वर्षपछि कति मेगावाट चाहिने भनेर पीपीए गर्ने महत्वपूर्ण भएको छ’ उनले भने ‘आज पुग्यो भनेर फेरी पनि ७ वर्षपछि लोडसेडिङ गर्नुपर्यो भने राम्रो् हुँदैन । माग कसरी बढ्छ । निकासी बजार कस्तो हुन्छ यो सबै हेर्नुपर्छ ।’
नेपालको प्रणालीको स्थिरताका लागि ६३५ मेगावाटको दूधकोसी जलासय एसियाली विकास बैंक (एडीबी)को ऋण र १०६१ मेगावाट माथिल्लो अरुण विश्व बैंक र स्थानीय वित्तीय संस्थाको मिश्रित ऋण लगानीमा बनाउने तयारी भएको उनले सुनाए ।
यस्तै भर्खरै विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको ४९० मेगावाटको अरुण ४ आयोजना पनि प्राधिकरणले अध्ययन सकेको छ । यसैगरी चैनपुर सेती तयारीमा छ । ३ हजार मेगावाट प्राधिकरणसँग छ । प्राधिकरणले २०७६ सालदेखि पीपीए रोकेको छ । पीपीए रोकेपछि निजी लगानीकर्ताले पहल गरिरहेका छन् ।