काठमाडौं । सोमबार सामान्य करेक्सन आएको सेयर बजार मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । सोमबार लगानीकर्ताले कुनै-कुनै स्क्रिप्टमा नाफा बुक गर्न खोज्दा बजार घटेको थियो । तर, मंगलबार बजारले गति लिएको छ ।
यद्यपि, सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ७ अर्ब ७७ करोडको सेयर किनबेच भएकोमा मंगलबार ६ अर्ब मात्रै कारोबार भएको छ ।
लामो समयसम्म वेट एन्ड वाचमा बसेका ठूला लगानीकर्ता केन्द्रीय बैंकको भनाइ पछि सेयर बजारमा भित्रिए पछि बजार बढिरहेको छ । यो बेला केही लगानीकर्ताले सस्तोमा सेयर उठाएका कारण उनीहरु नाफा पनि बुक गरिरहेका छन् ।
केन्द्रीय बैंकले ऋणको ब्याजदर पनि बढाउन नदिने र तरलता अभाव पनि हुन नदिने प्रतिबद्धता गरे पनि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो । त्यसैगरी केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको सीमाप्रति पनि रियलाइजेसन गरेकाले बजारमा त्यसको सकारात्मक असर परेको हो ।
छोटो समयमा करिब ७ सय अंकले घटेको बजार २४८० को तहसम्म घटेपछि फर्किएको थियो । अलि छिटो निकै धेरै अंक घटेकाले बजार फर्किंदा पनि सोही गतिमा फर्कियो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज २३.७६ अंकले बढेर २८४३.६२ बिन्दूमा पुगेको छ ।
बजार बुल रनमै देखिएको छ । सामान्य करेक्सनपछि बजारले फेरि उकालो यात्रा तय गर्न सक्ने देखिन्छ । लगानीकर्ताहरुले भने आफ्नै रणनीति तय गर्न आवश्यक हुन्छ । कहिले किन्ने अनि कहिले बेच्ने, कुन सेयर कति मूल्यमा किनबेच गर्ने भन्ने विषय नितान्त व्यक्तिगत विषय हुने भएकाले यसमा स्वतन्त्रपूर्वक निर्णय लिन आवश्यक हुन्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ ।
लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ख्याल गर्न भने भुल्नु हुँदैन । बजार बढ्दा होस् वा घट्दा लगानीकर्ताले कम्पनीहरुको बारेमा निरन्तर अध्ययन गर्नुपर्छ । लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ । लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ । लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिन हुँदैन ।
अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । नाफा औसतमा बढेको देखिएको छ । कम्पनीहरुको लाभांश प्रस्ताव गर्नेक्रम पनि जारी छ । कतिपयले बुक क्लोज मिति तय गरी साधारण सभा पनि बोलाउन थालेका छन् ।