म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको स्तरोन्नतिको काम बाँकी छ ।
आयोजनाका प्रमुख जगत् प्रजापतिले ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ प्याकेज निर्माण सकिएको जानकारी दिए। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारमध्ये एउटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा रहेको उनले बताए।
जोमसोम–कोरला खण्डअन्तर्गत तामाङ–गौरी पार्वती–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेकका प्याकेजको स्तरोन्नति सकिएको छ । उक्त खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । ग्राभेल भइसकेको २५ किलोमिटर दूरीको जोमसोम–कागबेनी खण्डको सडक दोस्रो चरणमा कालोपत्र गर्ने तयारी भएको छ ।
भेना–घिलिङ, कागबेनी–ताङवे, ताङ्वे–चैले, चैले–चराङ र छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भइसकेको छ । बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत प्रगति छ । ११ मिटर फराकिलो, नाली, ग्याविनसहितको पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्ने काम सकिएको छ ।
झण्डै ६ अर्ब रूपैयाँको लागत अनुमान गरिएको उक्त आयोजनामा आर्थिक वर्ष २०७७/७८ सम्म ५ अर्ब १३ करोड ४८ लाख खर्च भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनालाई १ अर्ब ३० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । सो सडकको विभिन्न ठाउँमा करिब २० मोटरेबल पुल निर्माणाधीन छन् ।
आयोजनाअन्तर्गत १९ किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटबाट बेगखोलासम्मको ६ किलोमिटर कालोपत्र सुरु भएको छ । शर्मा गजुरमुखीले ठेक्का लिएको तेस्रो नम्बर प्याकेजमा पर्ने १६ दशमलव ५ किलोमिटर दूरीको कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
सोही कम्पनीले ठेक्का लिएको नारच्याङ–कैकुखोला खण्डमा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा पहाड फुटाएर सडक विस्तार गर्न तीन हजार प्वाल खोलेर १० मेट्रिक टन जिलेटिन विस्फोट गराउने तयारी छ ।
बर्खाका कारण रोकिएको सडक निर्माणको काम दसैंलगत्तै अघि बढेको छ । चौथो नम्बर प्याकेजमा पर्ने कोवाङबाट जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न थालिएको छ । “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्रे हुँदैछ”, आयोजनाका इञ्जीनियर आशिष मानन्धरले भने, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि ८ मिटर चौडाइमा कालोपत्र गछौँ ।”
१३ किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक विस्तारको काम पनि सुरु भएको छ । मालढुङ्गाबाट बेनी हुँदै जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमबाट कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित उक्त आयोजना राष्ट्रिय गौरवको हो । रासस