विराटनगर । मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीपकुमार भण्डारीले आचार्यलाई सदनमा मन्तव्य राख्ने समय दिएका थिए । संसदमा मन्तव्य राख्दै आचार्यले राजीनामा घोषणा गरेका हुन् । पार्टीको बहुमत नरहेकाले आफूले राजीनामा दिएको आचार्यले बताए ।
आचार्यले संविधानको भावनाविपरीत अध्यादेश जारी भएको र दल विभाजनको सन्दर्भमा त्यही भएको बताउँदै यसले अस्थिरता भएको बताए । उनले पछिल्लो प्रावधानले दल विभाजनको अवस्था आएको भन्दै अध्यादेशले ४० प्रतिशतको साटो २० बनाएको र अमर्यादित ढंगले आएको सुनाए । उनले भने, ‘यो संविधानको मर्मअनुसार थिएन ।’
जनताको अपेक्षा र कामको चापले आफूले पहिल्यै राजीनामा नदिएको जिकिर गर्दै जनताको माग सरकार रहिरहोस् भन्ने भए पनि संसदको अंकगणित अर्कै भएको उनको भनाइ थियो ।
लडाइँ झगडा धेरै गर्नेभन्दा प्रतिस्पर्धा देश निर्माणमा केन्द्रित हुनुपर्ने बताए । विश्वासको मत लिन असोज १५ गते आचार्यले प्रस्ताव दर्ता गराएका थिए । नयाँ सरकार राजनीतिक गन्जागोलबीच आएको र आफूले नेतृत्व गर्दा केही राम्रो काम गरेको आचार्यले जिकिर गरे ।
मुख्यमन्त्री आचार्यले कोभिड नियन्त्रणका लागि निः शुल्क परीक्षण र उपचारको दायरा बढाइएको, तेस्रो लहरको सामना गर्न उपचारका लागि अक्सिजन, भेन्टिलेटर, शय्याको उचित प्रबन्ध गर्दै १० करोड रुपैयाँको फन्ड राखेको, यातायातको सेवा अनलाइन लाने प्रबन्ध गरेको, धनकुटामा सेवा विस्तार गरेको, जिल्लाहरूमा सेवा कार्यालय खोलिएको तर एकीकृत सेवा दिने सवालमा थप अध्ययन भइरहेको सदन समक्ष जानकारी गराए ।
उनले स्थायी राजधानीका संरचना निर्माण सुरु गर्न जग्गा खोज्न समिति बनाएको र खोजीपछि संरचना निर्माण गरिने बताए । प्रदेशको राजस्व वृद्धि गर्न स्थायी ढंगले काम अघि बढाइएको र नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनलाई सार्थक बनाउने प्रयास गरेको दाबी गर्दै भने, ‘बजेट बढाउन उच्च स्तरीय कार्यदल बनाएर राजस्वका स्रोत वृद्धि गर्न अध्ययन सुरु भएको छ ।’
पर्यटन बोर्ड, खेलकुद बोर्ड, श्रम सल्लाहकार समिति गठन, मनमोहन प्राविधिक विश्वविद्यालयमा छात्रवृत्तिको स्रोत सुनिश्चित गरेको, धनकुटामा एक सय बेडको अस्पताल उदघाटन गरेको सदनलाई जानकारी गराए । प्रदेश सभामा बहुमतको लागि ४७ सांसद चाहिन्छ । गठबन्धनसंग ५० सांसद छन् । एमालेका ४१ छन् ।
राप्रपाका एक जना सांसद कतै खुलेकी छैनन् । गठबन्धनमा प्रदेश १ को मुख्यमन्त्री नेकपा समाजबादीलाई दिने निर्णय भएको छ । अब नेकपा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् ।