काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालको संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने उद्देश्यले राष्ट्र बैंकले गरेको अध्ययनले बैंक तथा वित्तीय संस्था व्यवसाय विस्तारमा बागमती प्रदेशमा केन्द्रीत रहेको देखाएको हो ।
गत आर्थिक वर्ष ०७७/०७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बागमती प्रदेशमा रहेको छ । यस्तै सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ र कुल कर्जाको हिस्सा ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ ।
कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्ला वर्षहरूमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच बागमती बाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।
औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको अध्ययन प्रतिवेदनको ठहर छ ।
वित्तीय पहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा समेत वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने काय प्राथमिकतामा रहँदै आएको राष्ट्र बैंकले जनाएको छ । प्रस्तुत अध्ययनले मूलतः प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ ।
यसबाहेक गरिब, विपन्न, बेरोजगार र महिला लगायतले सञ्चालन गरेका व्यवसाय प्रवर्द्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।
वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए पनि यो अध्ययन मूलतः वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको केन्द्रीय बैंकले जनाएको छ ।