काठमाडाैं । भारतलगायत अन्य देशबाट बर्सेनि ठूलो परिमाणमा तरकारीजन्य वस्तु नेपाल आयात भइरहेको सबैलाई थाहा छ । यस्तो अवस्थामा पनि नेपालबाट तरकारी विदेश निर्यात हुन्छ भन्दा जोकसैलाई पत्याउन गाह्रो पर्छ । तर गुणस्तरीय नेपाली उत्पादनले विदेशमा पनि ठाउँ पाउन थालेको छ ।
योचाहिँ पक्कै हो ।
पछिल्लो समय छिमेकी देशमा मात्र नभएर खाडी मुलुकमा नेपाली अग्र्यानिक तरकारी निर्यात हुन थालेको हो । विशेषगरी मूला, साग, निगुरो, गुन्द्रुक, तामा, सिन्की, करेला, काँक्रो, बोडी, खुर्सानीलगायत तरकारीजन्य वस्तु कतार पुग्ने गरेका छन् ।
चार जना युवाको सक्रियतामा कतारमा ३ महिनादेखि अग्र्यानिक तरकारी निर्यात भइरहेको छ । उनीहरुले तरकारी विदेश पठाउनकै लागि २५ लाख रुपैयाँ लगानीमा ‘अल सामान इन्टरनेसनल’ कम्पनी दर्ता गराएका छन् । चलचित्रकर्मी कल्याण घिमिरेको सोच र अगुवाइमा ‘अल सामान इन्टरनेसनल’ कम्पनीमार्फत सातदोबाटोमा कम्पनीको तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि कोल्ड स्टोर छ । किसानबाट तरकारी ‘ग्रेडिङ’ गरी सङ्कलन केन्द्रमा ल्याइन्छ । केन्द्रमा पुनः तरकारीको ‘ग्रेडिङ’ गरी निर्यातयोग्य गुणस्तरको तरकारी प्याकेजिङ गरी हरेक आइतबार र बुधबार तरकारी कतार पुर्याइन्छ ।
कल्याण घिमिरे, सुमन बराल, धनराज आचार्य र शैली राणाको संयुक्त लगानीमा कम्पनी खोलिएको हो । किसानलाई बिचौलियाबाट मुक्त गराई आकर्षक उत्पादन मूल्य प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको सञ्चालक सुमन बराल बताउँछन् । अग्र्यानिक उत्पादन वृद्धि र किसानलाई लक्ष्य गरी व्यावसायिक उत्पादनमा जोड दिने मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । ‘हाम्रो ‘टार्गेट’ नै किसानलाई व्यावसायिक बनाउनु मात्र होइन, बिचौलियाबाट मुक्त गराउनु पनि हो,’ बरालले भने, ‘अग्र्यानिक उत्पादन र ग्रेडिङ गरेको तरकारी हुनुपर्छ । अरु व्यापारीले भन्दा बरु १०/१५ रुपैयाँ बढीमा किन्छौं ।’
कम्पनीले भारतबाट आयातित तरकारी लिँदैन । अहिले विभिन्न क्षेत्रका किसानसँग सम्पर्कका आधारमा ‘स्थानीयस्तरमा उत्पादित’ तरकारी खरिद गर्ने गरेको छ । छिट्टै मकवानपुरको चित्लाङ, चितवनका तरकारी किसान र कृषि सहकारीसँग सहकार्य गरी तरकारी सङ्कलन गर्ने गरी काम अघि बढाएको छ । कम्पनीले भविष्यमा आफैं जमिन भाडा (लिज)मा लिएर तरकारी उत्पादन गर्ने योजनासमेत बनाएको छ । त्यसका लागि लुभु र चापागाउँमा एक सय रोपनी जग्गा लिजमा लिने तयारी गरेको बरालले बताए ।
सङ्कलन केन्द्रबाट प्याक गरिएको तरकारी एयरपोर्टमा ‘क्वारेन्टाइन’ परीक्षण र स्टोर गरेर मात्र पठाउने गरिएको छ । अहिले कतारसम्म पुर्याउँदा ‘एयर कस्ट’ महँगो पर्ने बरालको भनाइ छ । उनका अनुसार प्रतिकिलो तरकारीको भाउ कतार पु¥याउँदा २० प्रतिशत महँगो पर्छ । कतारमा पुगेपछि विभिन्न मार्ट र महलसँग सम्पर्क गरेर बिक्रीको व्यवस्था मिलाइएको छ । हाल कतारमा करिब साढे २८ लाख जनसङ्ख्या भएको मानिन्छ ।
कतारमा झन्डै ५ लाख हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ । नेपाली तरकारी अधिकांश नेपाली र केही कतारीको पनि रोजाइमा पर्छ । कतारको मार्केट र मागअनुसार तरकारी निर्यात गर्न नसकिएको कम्पनीले जनाएको छ । आइतबार कतार पठाएको तरकारी सोमबारसम्म बिक्री भइसक्छ । ‘कतारमा नेपाली तरकारीको माग अधिक छ । पु¥याउनै सकेका छैनौं,’ सञ्चालक बरालले थपे, ‘आइतबार पठायो, सोमबार सकिइहाल्छ ।’ हरेक आइतबार र बुधबार कतार उडान भर्ने जहाजमार्फत तरकारी निर्यात गर्ने गरिएको छ ।
केही वर्षअघि साल्ट ट्रेडिङ कर्पोरेसनले पनि कतारलगायत देशमा तरकारी निर्यात गथ्र्यो । तर पछिल्लो समय भने कर्पोरेसनमार्फत तरकारी कतार जाँदैन । अल सामान ग्लोबल कम्पनीले कतार मात्र नभई आफ्नो उत्पादनलाई दुबई पठाउने योजना बनाएको छ । दुबईमा पनि नेपाली तरकारीजन्य वस्तुको मागबारे कम्पनीले अनुसन्धान सकाएको छ । कम्पनीले केही समयपछि दुबईमा तरकारी निर्यात गरिने जनाएको छ ।
कम्पनीले सन् २०२२ मा कतारमा हुने फुटबलको महासङ्ग्राम ‘विश्वकप’मा बिक्री बढी हुने भएकाले अधिक निर्यातमा जोड दिइरहेको छ । अहिले तरकारी निर्यातमार्फत मासिक न्यूनतम १५ लाख रुपैयाँ कारोबार भएको कम्पनीको दाबी छ ।