काठमाडौं । नेपालमा एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने योजनालाई निरन्तरता दिन लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच वार्ता (नेगोसियसन) सुरु भएको छ ।
दसैंअघि नै मोट्रेक्ससँग वार्ता सुरु भएको बोर्डले जनाएको छ । हाल मोट्रेक्ससँग वार्ता जारी रहेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले क्यापिटल नेपाललाई बताए । एसेम्बल प्लान्ट राख्न वार्ता चलिरहेको तर निश्कर्षमा नपुगेको उनले जानकारी दिए ।
‘मोट्रेक्सले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कका साथै अन्य सुविधाहरू मागेको छ’, उनले भने, ‘यस विषयमा निर्णय भइसकेको छैन । चाँडै निश्कर्षमा पुग्ला ।’
हालसम्म सम्पन्न भई प्लान्ट सञ्चालनमा आइसक्नु पर्ने कम्पनीको योजना कोभिड महामारीका कारण पछाडि परेको मोट्रेक्सले लगानी बोर्डलाई बताउँदै आएको छ । २०७६ मंसिरमा मोट्रेक्सले प्लान्ट स्थापनाका लागि बोर्डसँग सम्झौतासमेत गरिसकेको छ ।
कोभिडका कारण केही समय सम्पर्कमा नरहेको कम्पनीसँग बोर्डले पुनः सञ्चार सुरु गरेको हो । ‘कम्पनीसँग दुई महिनादेखि हामी पुनः सम्पर्कमा छौं,’ लगानी बोर्डका उपसचिव तथा सहप्रवक्ता अधिकारीले भने, ‘कम्पनीलाई हामीले उसको मागहरू सबै स्पष्ट राखी विवरण पठाउन भनेका छौं ।’
कम्पनीले भ्याट तथा अन्तःशुल्क छुट प्रोत्साहनको माग अगाडिदेखि नै राख्दै आएको उनले बताए । कर छुट दिएमा आउन सहज हुने मोट्रेक्सले बताउँदै आएको छ ।
मोट्रेक्सका लागि उपयुक्त ठाउँ मोतीपुर थियो तर पहिलो रोजाई लुम्बिनी स्पिनिङ मिल भएको ठाउँ परेको छ । यद्यपि प्लान्ट राख्ने स्थानको अझै तय भएको छैन ।
तर, मोट्रेक्सलाई रुपन्देहीको मोतीपुरमा प्लान्ट राख्न सरकारले आफैं जग्गा दिने सम्झौता गरिसकेको छ । यो स्थानमा राख्ने वा अन्य स्थानमा सार्ने छलफलको क्रममा रहेको छ । त्यसका अलवा मोट्रेक्स दर्तालगायतका काम पनि अघि बढेको उद्योग विभागले जनाएको छ ।
मोट्रेक्सले यसअघि नै नेगोसिएसन शुल्क तिरिसकेको र आफ्ना माग पूरा भएमा नेपालमा प्लान्ट राख्न तयार रहेकाले लगानी बोर्डले कम्पनीलाई बोलाएको वार्ता थालेको बताएको छ । हाल मोट्रेक्सको एसेम्बलिङ प्लान्टका लागि लगानी उद्योग विभागमा पनि काम अगाडि बढिरहेको छ ।
अहिले मूल्यांकन समितिले पहिलो चरणको बैंठक गरी थप जानकारीहरू कम्पनीसँग माग गरिसकेको छ । थप विवरण आएपछि फेरि प्रक्रिया अघि बढ्ने वा नबढ्ने टुुंगो लाग्ने छ ।
मोट्रेक्सले २०७६ सालमै नेपालमा गाडी उत्पादनको लागि आवेदन दिएको थियो । लगानी बोर्ड बैठकले उसलाई मोटर उत्पादनको प्लान्ट राख्न दिने र १० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको थियो । बोर्डका अनुसार सो कम्पनीले नेपालमा न्यूनतम १५ अर्ब रुपैयाँसम्म लगानी गर्ने बताइएको छ । कम्पनीले नेपालमा चारपाङ्ग्रे गाडी उत्पादन गर्ने जनाइएको छ ।
उद्योग विभागका अनुसार यसअघि नै २२ उद्योग एसेम्बलिङ प्लान्ट राख्नका लागि दर्ता भइसकेकामा राज्यले उचित संरक्षण र प्रवद्र्धन गर्न नसक्दा कतिपय सुरु नै नभई बन्द भएका छन् भने कतिपय पछि बन्द भएका थिए ।
तर, पछिल्लो समय बजेट प्रतिस्थापन विधेयकमा अर्थमन्त्री जनार्दन शर्माले एसेम्बल उद्योगलाई अन्तःशुल्कमा छुटको व्यवस्था गरेपछि उद्योगीहरू थप उत्साहित बनेका छन् ।
मोट्रेक्सको आगमनसँगै नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीहरूले चासो देखाउन थालेका थिए । स्वदेशी उद्योगको चासो बढ्दै गएपछि मन्त्रालयले यसको सम्भावनाको अध्ययन अघि बढाएको थियो ।
यसअघि गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ’ ब्रान्डमा नेपालमै गाडी एसेम्बलिङ गरेको थियो । तर, सरकारी नीति सहयोगी नभएको बताउँदै हाल सो उद्योग बन्द भइसकेको छ ।