पर्वत । यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसन तयार भएको हो । लाहाचोक सबस्टेसनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए।
मोदी गाउँपालिकाको देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ मोदी सबस्टेसन १३२ केभी क्षमताको हो ।सबस्टेसनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ । यसमा साविकको पोखरा–मोदी लाइनसमेत जडान गरिसकिएको उनले बताए ।
यसैगरी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेसनको सबै काम सम्पन्न भइसकेको छ । उपकरण जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ ।
पर्वत र कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई पोखरास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भएको हो ।
मोदी –२ देउपुरबाट कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनमा १३८ टावर रहनेछन् । लाहाचोकबाट लेखनाथसम्मको काम भने बाँकी छ ।
त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम बाँकी रहेको छ । स्थानीयवासीको अवरोधलगायत समस्याका कारण टावर निर्माण हुन नसकेको हो । लेखनाथ सबस्टेशनको कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख अग्रवालले जानकारी दिए ।
२ अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोरोना र स्थानीयवासीको अवरोधलगायतका कारण केही समय ढिलाइ भएको हो । यो प्रसारणलाइन निर्माणका लागि सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । प्रसारण लाइन निर्माणपछि २०० मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिनेछ । रासस