काठमाडौं । केही समय अघि सेयर बेचेर बाहिरिएका ठूला लगानीकर्ता पुनः बजारमा प्रवेश गरेपछि सेयर बजारमा हरियाली सुरु भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाई र सीडी लागू गरेपछि बाहिरिएका ठूला सेयर लगानीकर्ता पुनः बजारमा प्रवेश गरेका छन् । उनीहरु बजारमा प्रवेश गरेसँगै सेयर बजार निरन्तर हरियाली भइरहेको छ ।
केन्द्रीय बैंकले तरलता अभाव र बैंकहरुलाई ब्याजदर बढाउन नदिने सुनिश्चितता गरेपछि ठूला लगानीकर्ता बजारमा प्रवेश गरेका हुन् । उनीहरु बजारमा प्रवेश गरेसँगै बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८०० माथि उक्लिएको छ ।
सामान्यतयः साउन, भदौ, असोज महिनामा तरलताको समस्या हुँदैन थियो । यो पटक केन्द्रीय बैंकको नीतिका कारण तरलता अभाव भयो र त्यसले ब्याजदरसमेत बढाउन सहयोग पुगेपछि सेयर बजार केही प्रभावित भएको छ । ३१९८ अंक पुगेको सेयर बजार सूचक घटेर २५०० तल आइसकेको थियो । तर, केन्द्रीय बैंकले पहिलो त्रैमासिक समीक्षामा मौद्रिक नीतिका केही बुँदालाई संशोधन गर्ने संकेत पाएपछि ठूला लगानीकर्ता बजारमा फर्किएका हुन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा लगाएको छ । त्यसलाई आउने मौद्रिक नीति समीक्षामा केही संशोधन गर्ने हल्ला बजारमा फैलिए पछि बजार उचालिएको हो । त्यसैगरी ब्याजदर बढ्न नदिने केन्द्रीय बैंकले आवश्यक औजार चलाएपछि लगानीकर्ताको मनोबल उच्च भएको हो । यद्यपि, बैंकहरुले सेयर धितो कर्जा प्रवाहमा भने कडाइ नै गरेका छन् ।
एकातिर सूचीकृत कम्पनीको वित्तीय विवरण धमाधम प्रकाशित भइरहेका छन् । सूचीकृत कम्पनीहरुले राम्रो नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेका कारण पनि बजार उचालिएको हो । बैंकहरुको पहिलो त्रैमासको रिपोर्ट राम्रो आउने सबै लगानीकर्ताबीच हल्ला चलिसकेको थियो । त्यसले पनि बजार हरियाली बनाउन सहयोग पुगेको हो ।
साताको पहिलो दिन सेयर बजार सूचक ५५.५० अंकले बढेर २८३७.६२ बिन्दूमा पुगेको छ । यसदिन कारोबार पनि बढेको छ । आइतबार ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख कित्ता सेयर किनबेच भएको छ ।