काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४४ प्रतिशत काम सकिएको छ । आयोजना निर्माण सुरु भएको २० महिनाको अवधिमा सिभिल निर्माणतर्फ काम तीव्र रुपमा अघि बढेको छ । माटो काट्ने काममा केही ढिलाइ भए पनि अन्य सिभिल र इक्विपमेन्टतर्फका कामको प्रगति उत्साहजनक रहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनले ७० प्रतिशत सिभिलतर्फको काममध्ये ५० प्रतिशत सम्पन्न भएको बताए ।
माटो काट्ने र स्ल्याब कल्भर्टको काममा केही ढिला हुने भए पनि अन्य काम भने भइरहेको उनको भनाइ छ । उनका अनुसार अहिले सिभिल निर्माणतर्फ रनवे, एप्रोन, ट्याक्सी वे, ह्याङ्गर एप्रोनलगायतका काम सम्पन्न भएका छन् । एयरफिल्ड लाइटिङतर्फ रनवेका लागि सेकेन्डरी नाली बिछ्याउने काम, दुवै ट्याक्सी वे, ट्रान्सफर्मर बक्स बनाउने काम सम्पन्न भएका छन् । स्ल्याब कल्ट वा सिँचाइ नहर निकासी कार्य र जमिनसम्बन्धी काम ८५ प्रतिशत सम्पन्न भएको छ ।
टर्मिनल भवनको काम पनि तीव्र रुपमा अघि बढेको छ । टर्मिनल भवन निर्माण कार्य अन्तिम चरणमा छ । एसीटी टावरतर्फ चौथो तलाको निर्माण कार्य सम्पन्न भएको छ । अहिले पाँचांै तला निर्माण भइरहेको छ । आरसीसी भवन निर्माण पनि सकिएको छ ।
सडक निर्माणका लागिबाहेक आयोजनाका लागि चाहिने जग्गा अधिग्रहण भएको छ । २२ अर्ब रुपैयाँ कुल अनुमानित लागतमा सुरु भएको विमानस्थलको हालसम्म २६.३६ प्रतिशत रकम खर्च भएको जनाइएको छ । विमानस्थल निर्माणमा चाइना एक्जिम बैङ्कको ऋण सहयोगमा छ ।
सन् २०१४ मे २२ मा क्यान र चाइनाको सीएमसी चाइना कम्पनीबीच व्यावसायिक ठेक्का सम्झौता भएको थियो । ३ वर्षमा सम्पन्न गर्ने सम्झौतासहित निर्माण सुरु भएको विमानस्थल निर्माण सम्पन्न गर्ने अवधिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख मुनकर्मीले क्यापिटल नेपाललाइ बताए ।
पछिल्लो पटक सन् २०२१ जुलाईसम्म विमानस्थल निर्माण सम्पन्न गर्ने अवधि छ । तर विमानस्थल आयोजनाले भने सन् २०२१ डिसेम्बरसम्म सम्पूर्ण काम सम्पन्न हुने बताएको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको सो विमानस्थललाइ पर्यटक केन्द्रित बुटिक विमानस्थलका रुपमा विकास गर्ने सरकारको योजना छ ।