काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी पदभार ग्रहण गर्न बिहीबार अपराहन्न ४ बजे केन्द्रिय कार्यालय पुग्दा आन्दोलनरत ट्रेड युनियनका कर्मचारीहरुले मुलढोकामै रोके ।
एकातिर ढिला गरी नियुक्तिपत्र पाएका अधिकारी (सोमबार निर्णय भएको बिहीबार पत्र पाएका) हताहतार पदभार ग्रहणका लागि कार्यालयमा पुग्दा ट्रेड युनियनले उनलाई सहजै रुपमा कार्यालय प्रवेश गर्न नदिएपछि केहि समय उनी अलमलिए ।
हुन त अधिकारीलाई ट्रेड युनियनका पदाधिकारीहरुकै चाहनाअनुसार नियुक्त गरिएको हल्ला नचलेको भने हैन । तर, पनि ट्रेड युनियनले आफूहरु लामो समयदेखि आन्दोलनमा रहेको र माग सम्बोधन नभएसम्म भित्र जान नदिने अडान राखे ।
त्यहि बीचमा ट्रेड युनियनका पदाधिकारीहरुले होहल्ला र नाराबाजीसमेत गरे । उनिहरुको नाराबाजीकै बीचमा नवनियुक्त अध्यक्ष अधिकारीलाई आन्दोलनरत कर्मचारीहरुले प्रतिबद्धता जनाउन आग्रह गरे । ट्रेड युनियनको आग्रह पनि अध्यक्ष अधिकारीले सार्वजनिक रुपमै भाषण गर्दै कर्मचारीहरुको माग अक्षरस पालना गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
‘म तपाईहरुकै माग सम्बोधनका लागि यहाँ आएको हँु, अध्यक्ष अधिकारीको भनाईलाई उदृत गर्दै ट्रेड युनियनका एक पदाधिकारीले क्यापिटललाई भने, मैले गर्ने हरेक निर्णय लिँदा समन्वय गर्छु ’ ।
सामूहिक रुपमा प्रतिबद्धता जनाए पनि ट्रेड युनियनका पदाधिकारीहरुले उनलाई मुलढोका बाहिरनै स्वागत गरेका थिए । खादा र माला लगाएर उनलाई स्वागत गर्दै ट्रेड युनियनकर्मीहरुले महाप्रबन्धक डिमप्रकाश पौडेलले जस्तै गल्ती नगर्न समेत खबदारी गरेका थिए ।
‘ट्रेड युनियनलाई बेवास्ता गर्दा महाप्रबन्धक पौडेलेको बर्खास्तीको लागि आन्दोलन गरेका छौं, तपाईलाई पनि त्यो दिन आउन नपरोस’ ट्रेड युनियनका नेताहरुले उनलाई चेतावनी दिए ।
निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनले नवनियुक्त अध्यक्षलाई मुलगेटमै प्रतिबद्धता जनाउन लगाएर त्यहि स्वागत गरेको बताए । ‘हामीले उहाँलाई स्वागतसँगै खबरदारी गराएका छौं, अव विगतका गल्ती कमजोरी नदोहोर्याउने प्रतिबद्धता जनाउनु भएको छ’, उपाध्यक्ष पुनले भने ।
ट्रेड युनियनको स्वागतपछि उनी कार्यभार सम्हाल्न आफ्नो कार्यकक्ष तर्फ लागेको थिए । त्यहाँ पनि उनले आफु निगम सुधारका लागि आएको र सबैको सुझाब अनुसार अघि बढ्ने बताएका छन् ।
आन्दोलनरत कर्मचारीहरुले निगमलाई पब्लिक कम्पनीमा लैजाने निर्णय खारेज हुनुपर्ने, महाप्रबन्धकको बढेको तलब घटाउनु पर्ने , महाप्रबन्धक पौडेलले राजीनामा दिनुपर्ने लगाएतका मागहरु अघि सार्दैै आएका छन् ।