काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारका लागि सूचीकृत संस्थाहरुमध्ये जलविद्युत कम्पनीको बजार पुँजीकरण हिस्सा बढ्दै गएको छ । कुल बजार पुँजीकरणमा जलविद्युत कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत पुगेको छ । गत असारसम्म जलविद्युत कम्पनीहरुको बजार पुँजीकरण हिस्सा ८.४ प्रतिशत मात्र थियो ।
जलविद्युत कम्पनीहरुको सेयर मूल्य उकालो लागेपछि बजार पुँजीकरण हिस्सा बढ्दै गएको हो । सेयर बजार बढाउन र घटाउन जलविद्युत कम्पनीको ठूलो भुमिका हुन थालेको छ । बजार पुँजीकरणका हिसावमा बैंक तथा वित्तीय संस्था र बीमापछि दोस्रोमा जलविद्युत कम्पनीहरु रहेका छन् ।
बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको धितोपत्र बजार पुँंजीकरणको हिस्सा अझै पनि ६९.१ प्रतिशत रहेको छ । यो समूहको गएको असारमा बजार पुँजीकरण हिस्सा ६८.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा केही प्रतिशत बढेको नेप्सेले जनाएको छ ।
यस्तै लगानी कम्पनीको ७.६, उत्पादन तथा प्रशोधन उद्योगको ४.१, होटेलको १.५, व्यापारिक संस्थाको ०.५ तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.७ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।
गत असारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.९ प्रतिशत थियो । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४, लगानी कम्पनीको ८.१ प्रतिशत थियो । शुक्रबारसम्म सेयर बजारको कुल पुँजीकरण ३८ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ४१ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।
चालु आर्थिक वर्ष ०७८/०७९ को दोस्रो महिनासम्ममा ३३ अर्ब ३ करोड बराबरको डिबेन्चर,३ अर्ब ८ करोड बराबरको साधारण सेयर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २८ करोड बराबरको बोनस सेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद सेयर गरी कुल ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण सेयर र २४ करोड बराबरको हकप्रद सेयर गरी ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
यो पनि हेर्नुहोस
केही वर्षभित्रै सेयर बजारमा हाइड्रोपावरको वर्चस्व हुने छ