काठमाडौं । स्वामित्व हस्तान्तरणमा ढिलाइ भएपछि नर्वेको लगानीमा २२ वर्ष अघि बनेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको अन्तरिम विद्युत खरिद सम्झौता (पीपीए) को म्याद पुनः ६ महिनालाई थप गरिएको छ ।
पहिला थपिएको अन्तरिम पीपीएको म्याद नोभेम्बर ९ तारिखदेखि सकिँदै छ । म्याद थप गरेर मे अन्तिमसम्म पुर्याईको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । स्वामित्व हस्तान्तरण नहुन्जेलसम्म विद्युत प्राधिकरणले खिम्ती आयोजनाको लगानीकर्ता हिमाल पावर लिमिटेडलाई अन्तरिम कालका लागि प्रतियुनिट २ रुपैयाँका दरले बिजुलीको महशुल भुक्तानी गर्दै आएको छ ।
कम्पनीको स्वामित्व हस्तान्तरणका लागि तिहारलगतै छलफल अघि बढ्ने बताइएको छ । आधा स्वामित्व हस्तान्तरणका लागि कम्पनी गठनको प्रक्रिया सुरु गर्न दसैंअघि विद्युत प्राधिकरण र खिम्ती आयोजनाको विकासकर्ता हिमाल पावरबीच ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा संयुक्त कम्पनी बनाउन छलफल सुरु भएको थियो । त्यसबेला प्रारम्भीक छलफल मात्र भएको बताइएको छ ।
स्वामित्व हस्तान्तरणका लागि ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । आयोजनाको सञ्चालन, व्यवस्थापन, बोर्डको नेतृत्व, आयोजना सञ्चालन, खर्च र जिम्मेबारीका साथै पीपीए दरमा मतभिन्नता रहेको कार्यदलका संयोजक तथा ऊर्जाका प्रवत्ता भेटवाल बताउँछन् । अब २, ३ राउण्ड वार्ता गरेर यसलाई टुङाउने तयारी भएको उनले सुनाए ।
विद्युत प्राधिकरण र हिमाल पावरबीच भएको सम्झौता २०७७ असार २७ गतेदेखि सकिएको छ । सम्झौता सकिएको डेढ वर्षमा पनि खिम्तीको आधा स्वामित्व प्राधिकरणमा आएको छैन । सम्झौता अनुसार खिम्ती आयोजनाको आधा स्वामित्व हस्तान्तरण हुनुपर्ने र डलरमा भएको पीपीए खारेज भइ नयाँ हुनुपर्ने छ ।
डलरमा भएको पीपीए खारेज भइसकेको छ । नयाँदर छलफलका क्रममा रहेको छ । सम्झौता सकिए पनि कोभिड महामारीको कारण छलफल हुन सकेको छैन । विद्युत प्राधिकरणले बिजुली खरिदवापत हिमाल पावरलाई प्रतियुनिट २ रुपैयाँका दरले अन्तरकालिन भुक्तानी गरिरहेको छ ।
प्राधिकरणको ५० प्रतिशत स्वामित्व आएपछि २ अर्ब ४९ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको बिजुली बिक्रीबाट प्राप्त हुनेछ । हिमाल पावरले ४ अर्ब ९९ करोड ३६ लाख ३२ हजार २०२ बराबरको बिजुली बिक्रीबाट आम्दानी गर्दै आएको थियो ।
प्राधिकरण र खिम्तीको प्रवद्र्धक हिमाल पावरसँग २०५१ मङ्सिर २९ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार बिजुली उत्पादन भएको २० वर्षपछि ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने उल्लेख छ । आयोजनाले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यस आधारमा २०७७ असारमा २७ मा २० वर्ष पूरा भएको छ ।
आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण भएको हो । तत्कालीन समयमा आयोजना १४ करोड २० लाख अमेरिकी डलरमा निर्माण भएको थियो । प्रतियुनिट २१ रुपैयाँमा प्राधिकरणले खरिद गरिरहेको थियो ।
खिम्तीले झण्डै ५ अर्ब रुपैयाँ बराबरको कमाइ गर्दा प्राधिकरणले अढाई अर्ब रुपैयाँ बराबरको नोक्सानी बेहोरिरहेको थियो । प्राधिकरणले सो आयोजनाको रोयल्टीसमेत आफै तिरिरहेको थियो ।