काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ३२ लाख लागतमा ‘मातातीर्थ कुण्ड पदमार्ग एवं साइकल मार्ग निर्माण भएको छ । मातातीर्थबाट ६.४ किलो मिटर (किमि) साइकलका लागि र पैदलका लागि २.५ किमि बाटो निर्माण गरिएको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) यूएनडीपी र चन्द्रागिरी नगरपालिका मिलेर सो मार्ग निर्माण गरेका हुन् । पैदल र साइकल मार्ग निर्माण भएसँगै नगरपालिकामा होटल व्यवसाय, यातायात, पर्यटन तथा कृषि क्षेत्रको विकासमा समेत सहयोग पुग्ने मेयर गिरीले बताए ।
साथै स्थानीय स्तरबाट निर्माण भएको सो मार्गले स्थानीयवासीको जीवनयापन उकास्नसमेत सहयोग पुग्ने उनको भनाइ छ । नेपालका १ सय पर्यटकीय क्षेत्रमा पर्न सफल चन्द्रागिरीमा वार्षिक २० लाख पर्यटक केबलकार चढ्न, मातातीर्थमा स्नान गर्न, त्रिभुवन पार्कमा जाने गरेका छन् ।
सामुदायिक वनभित्रको जंगललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न २०७४ सालमा अध्ययन भए पनि निर्माण कार्यले भने २०७८ सालमा मात्रै तीव्रता पाएको हो । गत भदौ २७ गतेबाट निर्माण कार्य सुरु गरिएकोमा हाल पैदल मार्गको काम सकिएको छ भने, साइकल मार्गको काम पनि अन्तिम चरणमा पुगेको छ । यद्यपि आगामी बुधबारसम्म साइकल निर्माण कार्य सम्पन्न गर्ने योजना नगरपालिकाले लिएको छ ।
सो मार्ग निर्माण कार्यमा करिब ३ हजार व्यक्तिले रोजगारी पाएको नगरपालिकाले जनाएको छ । त्यसमध्ये करिब ३ सय २४ जना पर्यटन मजदुर, पर्वतीय पर्यटन श्रमिक मजदुर संगठनका करिब १ हजार ९ सय जना र स्थानीयवासीले काम गरेका थिए ।
मजदुर संगठनका अध्यक्ष प्रकाश घायल राईका अनुसार कोरोनाका कारण पर्यटन क्षेत्र बन्द भएपछि मजदुरहरू विस्थापित भएका थिए । संगठनले वैकल्पिक रोगारीका लागि स्थानीय तह, एनटीबी, यूएनडीपी, टानसँग सहकार्य गरेर पद तथा साइकल मार्ग निर्माण गर्दै आएको छ ।
कोरोना संक्रमणपछि हालसम्म पर्वतीय पर्यटन श्रमिक मजदुर संगठनले २०/२२ ठाउँमा पद तथा साइकल मार्ग निर्माण गरिसकेको छ ।
प्रत्येक व्यक्तिलाई ४० दिन रोजगारी दिने योजना रहे पनि मजदुरको संख्या बढी भएर हाल प्रत्येक व्यक्तिलाई १० दिन रोजगारी प्रदान गरिएको छ ।