काठमाडौं । पोखरा विश्वविद्यालयमा चार वर्षे अन्टप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम बीईडी पढ्न चाहाने विद्यार्थीहरुले अब नबिल बैंकबाट सुलभ शैक्षिक तथा व्यावसायिक कर्जा पाउन सक्ने भएका छन् ।
पोखरा विश्वविद्यालयले शुक्रबार एक कार्यक्रमबीच नबिल बैंकसँग उक्त कर्जाका लागि समझदारीपत्र (एमओयू) सम्झौतामा हस्ताक्षर गरेको छ । पोखरा विश्वविद्यालयले २०२१ मार्चमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपालमै पहिलोपटक चार वर्षे अन्डरग्राजुएट बीईडी प्रोग्राम ल्याएको थियो ।
‘ब्याचलर अफ आन्टप्रिनियरसिप डेभलपमेन्ट प्रोग्राम बीईडीमा अध्ययन गर्न चाहाने विद्यार्थी तथा अध्ययनपश्चात उद्यम व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक व्यवस्थापन गर्न वित्तीय पहुँचमा सहजीकरण गर्न हामीले नबिल बैंकसँग एमओयू सम्झौता गरेका हौं’ विश्वविद्यालयका सह–प्राध्यापक तथा डिन डा. अजय थापाले क्यापिटल नेपाललाई भने ।
बैंकले प्रदान गर्ने शैक्षिक कर्जाअन्तर्गत चार वर्षे अन्डरग्राजुएट प्रोग्रामका लागि विद्यार्थीले अधिकतम ५ लाखसम्म शैक्षिक कर्जा पाउन सक्ने थापाले बताए । ‘हाम्रो चार वर्षे कार्यक्रमको फि ३ लाख १४ हजार २ सय रुपैयाँ हो,’ थापाले भने, ‘तर विश्वविद्यालयमा अध्ययन अवधिभर खान, बस्न तथा अतिरिक्त खर्चका लागि विद्यार्थीलाई सहज होस् भनी यो ऋण प्रदान गरेको हो ।’
यसैगरी शैक्षिक कर्जा र विश्वविद्यालयबाट सीप, मेन्टरसिप पाइसकेपछि चार वर्षे स्नातक उत्तीर्ण गरिसकेपछि उद्यम गर्न चाहाने विद्यार्थीहरुलाई पनि नबिलले व्यावसायिक कर्जा प्रदान गर्नेछ । व्यावसायिक कर्जा विद्यार्थीको बिजनेस आइडिया, व्यवसायको प्रकार सबै कुरालाई हेरेर प्रदान गरिने थापा बताउँछन् ।
कृषि, डेरी तथा खाद्य व्यवसाय गर्न चाहानेहरुका लागि एक किसिमको कर्जा उपलब्ध हुनेछ जसमा व्यक्तिगत रुपमा गर्न चाहानेले १५ लाखसम्म, फर्म खोलेर गर्न चाहानेले २५ लाखसम्म र ग्रुपमा रहेर गर्न चाहानेले प्रतिसदस्य ५ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।
उद्यमशील कर्जा अवधि १ देखि ८ वर्षसम्मको हुनेछ । त्योअनुसार सानो, मझौला, विभिन्न सेक्टरल इन्टरप्राइजेजलाई हेरेर १ लाखदेखि १ करोडसम्मको बिजनेसका लागि उनीहरुको कुल पुँजीको ७५ प्रतिशतसम्म नबिल बैंकले बिजनेस लोन प्रदान गर्ने थापाले जानकारी दिए ।
कर्जाको ब्याजदर विद्यार्थीले कर्जा लिएको समयको बैंकको आधारदर (बेसरेट) को आधारमा तय हुने भएकाले अहिले कुनै निश्चित ब्याजदर तोकिएको छैन । तर, विशेष प्राथमिकता कर्जा भएको हिसाबले अन्य कर्जाको तुलनामा विशेष कन्सिडरेसन हुने थापाले क्यापिटल नेपाललाई बताए ।
देशमा बेरोजगारीको समस्या समाधान गर्न तथा अध्ययन पूरा गरी विद्यार्थीले जागिर खोज्नको सट्टा अन्य बेरोजगारलाई समेत रोजगारी प्रधान गर्न सक्ने वातावरण बनाउन पोखरा विश्वविद्यालयले मन्त्रालयसँगको सहकार्यमा नेपालमै पहिलोपटक बीईडी विषय ल्याएको हो ।
यो शैक्षिक कार्यक्रमको पहिलो इनटेक गत मार्चमै भइसकेको छ । बीईडी कार्यक्रमका लागि पोखरा विश्वविद्यालयले ४८ जना विद्यार्थीको कोटा छुट्टयाएको छ । जसमा विश्वविद्यालयको नियमअनुसार २० प्रतिशत विद्यार्थीले पूर्ण छात्रावृत्ति पाउन सक्छन् ।
कक्षा ६ देखि १० सम्म सरकारी विद्यालय पढेका, दुर्गम क्षेत्रका महिला, आदिवासी, जनजाती, मधेसी, द्वन्द्वपीडित तथा शारीरिक रुपमा अशक्त विद्यार्थीहरू छात्रावृत्ति पाउने उनले बताए । यस बाहेक स्कलरसिप इन्ट्रान्समा मेरिट तथा आरक्षण दुवैका आधारमा पनि विद्यार्थी मूल्यांकन गरिने उनले बताए । बीईडी नयाँ विषय भए पनि भर्ना हुने विद्यार्थीहरुको संख्या उत्साहजनक रहेको उनले बताए ।
‘पहिलो इनटेकमा विश्वविद्यालयको सबै कुरा व्यवस्थापन गरेर भर्ना खुलाउन ढिला भएको थियो । ती यावत् चुनौतीको बावजुद पनि हामीसँग ३६ जना विद्यार्थी भर्ना भएका थिए । त्यो विषयको पहिलो इनटेक र धेरैलाई थाहा नभएको अवस्थामा २५ जना विद्यार्थीसम्म भर्ना होलान् भनेर सोचेका थियौं तर धेरै विद्यार्थी भर्ना हुन आए ।
यसपटकको इनटेकमा त कोटा फुल भएर सेलेक्सन गरी लिन पर्छ होला जस्तो लागेको छ ।’ थापा भन्छन् । जुनसुकै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थी बीईडी विषयका लागि सक्षम हुने उनले बताए ।