काठमाडौं । बैंक अफ काठमाडौंले देशभरिका राष्ट्रिय, प्रदेश, जिल्ला तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
बैंकले कोभिड–१९ सँग लड्न सहयोग पुर्याउने उद्देश्यले अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), मास्क, सर्जिकल ग्लव्स र स्यानिटाइजरहरु वितरण गरेको हो ।
प्रदेश नम्बर १ को खादँबारी जिल्ला अस्पताल, प्रदेश नम्बर २ को स्वास्थ्यचौकी सखडा, छिन्नमस्ता, सप्तरी, प्राथमिक स्वास्थ्यचौकी, मिर्चैया र समनपुर स्वास्थ्यचौकी, रौतहटमा स्वास्थ्य सामग्री वितरण गरेको बैंक अफ काठमाडौंले जनाएको छ ।
त्यस्तै बैंकले बागमती प्रदेशका भक्तपुर र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिम प्रदेशका टीकापुर र डडेल्धुरा अस्पताललाई पनि सामग्री वितरण गरेको छ ।
सबै अस्पतालहरुलाई फरक–फरक समारोहहरुमा सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीका प्रमुखलाई बैंकका प्रतिनिधिहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सो व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले कोरोना भाइरस नियन्त्रणको लागि अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंक अफ काठमाडौंले आफ्नो समाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, दैविक प्रकोप, वित्तीय साक्षरतालगायत थुप्रै क्षेत्रमा सहयोग गर्दै आएको छ ।