काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय प्रणाली (क्यूआर) कोडबाट रकम भुक्तानी गर्दा पादर्शीता र राज्यले प्राप्त गर्ने करमा सहज तथा हरेक व्यक्तिको कारोबारमा पनि वृद्धि हुने बताएका छन् ।
प्रभु बैंक र भाटभटेनी सुपर मार्केटबीच क्यूआर कोड सेवा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट सहजता हुने बताएका हुन् ।
राष्ट्र बैंक तथा सरकारले लिएको ‘क्यास लेस नीति’लाई सफल बनाउन डिजिटल भुक्तानीको प्रयोग गर्नसमेत उनले आग्रह गरेका छन् । क्यूआर कोडको प्रयोगबाट समयको बचत, कारोबार छिटो र धेरै हुने गभर्नर अधिकारीको भनाई छ । ‘मैले पनि गत पुस १० गतेबाट उद्घाटन गरेसँगै क्यूआर कोडबाट नै कारोबार गर्दै आएको छु, सजिलो हुन्छ’ उनले भने ।
बिहिबार नक्सालको भाटभटेनीमा ताम्रपत्र अनावरण गरी गर्भनर अधिकारीले मुस्ताङको स्याउ, मसरुम, किबीलगायत सामान किनेर क्यूआर कोडमार्फत रकम भुक्तानी गरेसँगै सेवा सुरु गरेका थिए ।
कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचर र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले क्यूआर कोड सेवा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्तान्तर गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले केन्द्रीय बैंकले क्यूआर कोडबाट भुक्तानी गराउन जोडबल गरिरहेको जानकारी दिए ।
देशको सबैभन्दा बढी सरकारलाई कर तिर्ने र धेरै रोजगारीको अवसर सिर्जना गर्ने संस्थाको रुपमा भाटभटेनीलाई विस्तार गर्ने योजना रहेको सञ्चालक गुरुङले बताए ।
आगामी २ वर्षमा भाटभटेनीबाट हुने ७५ प्रतिशत कारोबार क्यूआर कोडमार्फत गर्ने लक्ष्य भाटभटेनीले लिएको छ । कोल्ड स्टोरबाट एकजना कर्मचारी राखेर सुरु भएको भाटभटेनीमा हाल हजारौं व्यक्तिले रोजगारी प्राप्त गरेका छन् ।
बैंकका सीईओ शेरचनले भाटभटेनीमा क्यूआर कोड सुरु भएपछि देशविदेशमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय नेपालीहरुको जीवनशैली बनेको भाटभटेनीमा कारोबार सुरक्षित र सहज रुपमा पहुँच पुर्याउन प्रभु बैंकको क्यूआर कोडले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।