काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले नियुक्तिपत्र दिएको छैन । नियुक्तिपत्र नपाएकै कारण तीन दिन बितिसक्दासमेत उनले निगममा गएर पदभार ग्रहण गर्न पाएका छैनन् ।
सोमबार बसेको मन्त्रिपरिषदको वैंठकले चार वर्षका लागि अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । उनको नियुक्तिको विषयलाई लिएर चौतर्फी विरोध भएपछि सरकारले बुधबार रातीसम्म उनलाई नियुक्तिपत्र दिएको छैन् ।
निगमको अर्थविभागमा रहँदा आफ्नै कर्मचारीहरु माथि यौनदुराचारको आरोप लागेको र मिलेमतो गरेको पत्रहरु सार्वजनिक भएसँगै उनको नियुक्तिको चर्को आलोचना भएको छ ।
ऋणमा चुर्लुम्म डुवेको निगमलाई प्रतिस्पर्धी बनाउन योग्य व्यक्तिलाई अध्यक्ष बनाउनुपर्नेमा आचरण खराब भएको,विवादित व्यक्तिलाई निगमको जिम्मेवारी दिएको भन्दै सरकारको विरोध भएपछि उनलाई हालसम्म नियुक्तिपत्र नदिइएको बताइएको छ ।
सामान्यतया नियुक्तिको भोलिपल्टनै पत्र लिने र त्यही दिन पदभारग्रहण गर्ने प्रचलन रहेको छ । उनीसँगै नियुक्ति पाएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले मंगलबारनै पदभार ग्रहण गरिसकेका छन् । तर, निगमका कार्यकारी अध्यक्ष अधिकारीको भने पत्र नै नपाएको कारण पदभारग्रहण कार्यक्रम रोकिदै आएको छ ।
बुधबार कार्यालयमा कार्यकारी अध्यक्षको स्वागतका लागि पन्चकन्या सहितको टोली तयारी गरिएको थियो । तर, बेलुकासम्म नियुक्तिपत्र नै नआएपछि उनको स्वागतका लागि तयार पारिएको पन्चकन्या, घडा र फूलमालाहरु अलपत्र परेको थियो ।
निगममा रहेका एक कर्मचारीका अनुसार अध्यक्ष अधिकारीले नै निर्देशन दिएर बिहानैदेखि उनको स्वागतका लागि अन्यकर्मचारीहरु कार्यालयमा तयारी अवस्थामा रहेका थिए । उनको स्वागतका लागि आन्दोलनमा उत्रिएका ट्रेडयुनियका नेताहरुसमेत आएका थिए ।
महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा माग्दै लामो समयदेखि आन्दोलन गर्दै आएका कर्मचारीहरुले विवादित व्यक्तिलाई कार्यकारी अध्यक्षको रुपमा नियुक्ती गर्दासमेत केहि प्रतिक्रिया दिएका छैनन् । ट्रेड युनियनका नेताहरुले आफ्नै सहकर्मीलाई यौनदुरव्यवहार गर्ने व्यक्तिलाई नै खुसीका साथ कार्यकारी अध्यक्षको रुपमा स्वीकार गर्दै स्वागतका लागि आएका थिए ।
नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीको मुद्दा मिलाउने साक्षिका रुपमा ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी आफै बसेका थिए । त्यही भएर पनि अहिले सरकारले विवादित व्यक्तिलाई नियुक्त दिँदासमेत उनिहरु चुप लागेका छन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कर्मचारीहरुकै चाहना र मागअनुसार कार्यकारी अध्यक्षको रुपमा अधिकारीलाई नियुक्त गरिएको स्पष्टीकरण यस अघिनै दिइसकेका छन् ।
महिला कर्मचारीद्धारा आन्दोलनको चेतावनी
यौनदुराचारको आरोप लागेका व्यक्तिलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको भन्दै निगम भित्रका महिला कर्मचारीहरु रुष्ट बनेका छन् । उनिहरुले बुधबार विज्ञप्ति जारी गरी सरकारसँग निर्णय फिर्ताको समेत माग गरेका छन् ।
निगमभित्र छवि बिगारेका पूर्वकर्मचारी तथा अर्थ विभागको निर्देशक अधिकारीलाई नियुक्त गरेकोमा निगमका महिला कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।
‘नेवानिभित्र रहेका सम्पूर्ण निर्देशकहरू महिला तथा आम कर्मचारी अधिकारीको नियुक्तिले खुसी भएको अवस्था छैन,‘ महिला कर्मचारीहरूबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला हिंसा गर्ने, पटक-पटक गल्ती गरेर ढाकछोप गर्दै हिँडेका अधिकारी पुनः निगममै कार्यकारी प्रमुख भएर आउने निगम सिध्याउने खेल हो।’
निगममा निर्देशक भएदेखि हालसम्म पनि अधिकारीको स्वभाव तथा भावना कर्मचारीको मनोबल खस्काउने, सीमित घेराभित्र रमाउने र कर्मचारीलाई धम्काउनेमा सीमित रहेको कर्मचारीको भनाइ छ । विगतमा गरेको गल्तीमा महिला कर्मचारीका खुट्टा पटक पटक ढोग्दै आएको व्यक्ति फेरि पनि कार्यकारी प्रमुखको कुर्सीमा बस्ने नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।
यो पनि हेर्नुहोस
आन्दोलनमा उत्रिएका निगमका ट्रेड युनियनले खोजेको कार्यकारी प्रमुख यस्तै हुन त ?
यौन दुराचार र आर्थिक हिनामिनामा मुछिएका अधिकारी निगममा, पर्यटनमन्त्री र माधव नेपालबीच कुराकानी