विराटनगर । प्रदेश १ पर्यटकीय क्षेत्र हो । नेपालको सबैभन्दा अग्लो शिखर सगरमाथा यही पर्छ । धनकुटा भेडेटार, इलाम लगायतका प्रमुख पर्यटकीय क्षेत्र भएका कारण प्रदेश १ मा पर्यटनको सम्भावना धेरै छ ।
प्रदेश १ मा भारतीय पर्यटकसँगै अन्य देशका पर्यटकहरु पनि धेरै आउने गरेका छन् । कोरोना महामारीका कारण खस्किएको पर्यटन क्षेत्र सामान्य भएसँगै बढ्न थालेको छ । भारतीय नाकाहरु खुलेसँगै पर्यटक आउन थालेका छन् । अन्य देशबाट पनि पर्यटकहरु आउन थालेको व्यवसायीहरुले बताएका छन् ।
कोरोना महामारीले थलिएका प्रदेश १ का पर्यटनस्तरीय होटलहरुले ‘पिकअप’ लिन थालिसकेका छन् । कोरोना महामारीका कारण समग्र व्यवसाय झैं पर्यटन व्यवसाय पनि ओरालो लागे पनि प्रदेश १ मा नयाँ होटलहरु खुल्ने क्रम भने रोकिएन । यस अवधिमा होटल क्षेत्रमा मात्र अर्बौं रुपैयाँ लगानी भएको छ ।
कोरोना महामारीले सुस्ताएको पर्यटन व्यवसाय समय अनुकूल हुनासाथ फस्टाउने अनुमान गरी होटल क्षेत्रमा लगानी भएको व्यवसायीहरुको भनाई छ । महामारीकाबीच पनि पर्यटन क्षेत्र सकारात्मक ढंगबाट अघि बढ्न सक्छ भन्ने आशालाई कायम राखेकाले होटलमा लगानी बढेको होटल एसाेसिएसनका क्षेत्रिय संयोजक राजन श्रेष्ठले बताए ।
केही समयअघि कोरोना संकटकै समयमा बाह्य पर्यटकलाई लक्षित गरेर करोडौं लगानीमा झापाको धुलाबारीमा होटल मेची क्राउन (पाँचतारे) र बिर्तामोडमा सिद्धार्थ होटल (तीनतारे) सञ्चालनमा आएका छन् ।
मेची क्राउन काँडभिट्टादेखि ४ किलोमिटर पश्चिम मेचीनगर नगरपालिका धुलाबारीमा सञ्चालनमा आएको हो । डेढ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको पाँचतारे होटल भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको हो । होटल परिसरका हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुल, ग्रीन गार्डेनलगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मलसमेत बन्ने बताइएको छ ।
सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १ सय ५ वटा सुविधासम्पन्न कोठाहरु छन् । जसमा ५ वटा मेची सुइट्स रुम, १० वटा एजुकेटिभ भिला रुम, १९ वटा मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छन् । होटलमा ९ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
भुटान, भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर पूर्वको सीमामा खुलेको उक्त होटलले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।मोरङको विराट चोक र झापाको दमकमा ७५ करोड रुपैयाँको लगानीमा पीएलओ ग्रुपले तीन तारे होटल सञ्चालनमा ल्याएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकको विराट चोकमा ५३ करोड रुपैयाँको लगानीमा तीन तारे होटल सञ्चालनमा ल्याएको पीएलओ ग्रपले झापाको दमक बजारमा पनि २२ करोड रुपैयाँको लगानीमा त्यस्तै होटल सञ्चालनमा ल्याएको हो ।
विराट चोकमा २५ कठ्ठा क्षेत्रफलमा बनेको उक्त होटलको नाम ‘नेपाली रिका’ दिएको छ । १० वटा भवन रहेको उक्त होटलको लगानी ५३ करोड रहेको होटलका सञ्चालक पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले बताए ।
होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् । होटलमा ३० वटा भीआइपी, २५ वटा डिलक्स र ४ वटा प्रोसेन्टल स्वीट रुम छन् । होटलभित्र स्वीमिङ पुल, जिम खाना, मसाज सेन्टर, सानो स्टीमदेखि शैलुन र कफी सपसमेत रहका छन् ।
होटलमा सेमीनार हलका अलवा साकाहारीसहित चारवटा रेष्टुरेन्ट रहेका छन् । होटलमा १ हजार जना अटाउने क्षमता भएका २ वटा पार्टी प्यालेससमेत रहेका छन् । झापाको दमकमा पनि विराट चोककै जस्तो होटल सञ्चालनमा छ । २२ करोड रुपैयाँको लगानी रहेको उक्त होटलमा पनि ६० वटा कोठाहरु रहेको छ ।
प्रदेश १ मा होटल व्यवसाय शुरू गरेको पीएलओ ग्रुपले आगामी ५ वर्षभित्र देशका विभिन्न ठाउँमा ५ वटा होटल खोल्ने लक्ष्य राखेको छ ।
‘कञ्चनजंघा, कोसीटप्पुलगायत देशभरका प्रचुर पर्यटकीय सम्भावना भएका गन्तव्यमा अहिलेसम्म न्यूनतम सुविधाका होटलसमेत छैनन्, दुलालले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले आगामी ५ वर्षभित्र देशका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई केन्द्रमा राखी सुविधा सम्पन्न होटल खोल्ने योजना बनाएका छौं ।
देशका कुन–कुन ठाउँमा नयाँ होटल खोल्ने भन्ने एकीन भइनसके पनि पर्यटकीय सम्भावना र अहिलेसम्म सुविधायुक्त होटल नबनेका ठाउँमा खोलिने उनको भनाइ छ । अब खुल्ने सबै नयाँ होटल ‘नेपाली रिका’ ब्रान्डमा सञ्चालन हुने दुलालले बताए ।
विराटनगरमा पनि पर्यटन स्तरीय होटलहरुमा लगानी बढिरहेको छ । १०÷१५ करोड रुपैयाँका पर्यटकीय केही होटलहरु निर्माणाधीन अवस्थामा छन् । विराटनगर बसपार्क नजिक रहेको रत्ना होटलभित्र ५ करोड रुपैयाँ बढी लगानीमा छुट्टै ‘टिपिकल’ परिकार पाइने फ्युजन बार एण्ड ग्रिल होटल संचालनमा आएको छ ।
होटलमा नेपाली मौलिक टिपिकल परिकारहरू मात्र पाइने सञ्चालक जुद्धबिक्रम कुँवरले जानकारी दिए । युवा व्यवसायी कुँवरले ग्राहकहरूलाई नयाँ स्वाद दिने उद्देश्यले मौलिक र टिपिक परिकार मात्र राखिएको बताए । ‘नेपाली टिपिकल खानाखाने पारखीहरू थुप्रै छन्,’ उनले भने, ‘नयाँ स्वाद दिनको लागि टिपिकल परिकारहरू मात्र पाइने होटल सञ्चालनमा ल्याएको हो ।’
त्यसैगरी सुनसरीको धरान, धनकुटाको भेडेटार, ईलामको फिक्कल, कन्याम लगायतका क्षेत्रमा तीन तारे, पाँच तारे होटलहरुमा लगानी हुनेक्रम बढेको प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फडिन्द्र अधिकारीले बताए ।
विदेशी पर्यटकको रोजाईलाई मध्यनजर गर्दै प्रदेश १ मा होटलहरु बन्नेक्रम बढेको अधिकारीको भनाई छ । वैदेशिक रोजगारीमा गएर फर्केकाहरुले होटलमा लगानी गरेकाले पनि यस क्षेत्रमा लगानी बढ्दै गएको उनले बताए । विदेशमा आफूले देखेको संरचना र सिकेको सीप आफ्नै देशमा प्रयोग गर्ने उदेश्यले युवाहरुले पछिल्लो समयमा होटल क्षेत्रमा लगानी गरेको अधिकारीको भनाई छ ।
‘केही समयअघि सिमित होटलहरु मात्र रहेको प्रदेश १ मा पर्यटक आउने सिजनमा बास बस्न होटल नपाउने अवस्था थियो’, उनले भने, ‘अब त्यो अवस्था रहन्न, प्रदेश १ का सबै जसो जिल्लामा तीन तारे, पाँच तारे होटलहरु सञ्चालन भइसकेको र अझै खुल्नेक्रम रहेकाले अब पर्यटकहरु सुविधासम्पन्न होटलमा बस्न पाउनेछन् ।’ होटल क्षेत्रमा अझै लगानी बढ्ने उपाध्यक्ष अधिकारीले बताए ।