नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लामा सञ्चालन भएका घरवास (होमस्टे) पर्यटकीय दृष्टिकोणले सफल बन्दै गएको छ ।
स्थानीय स्रोतसाधनको प्रयोग र स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिँदै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालित होमस्टे आर्थिक रुपले पनि सबल देखिन थालेको छ । नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी पर्या–पर्यटन विकासमा होमस्टेले सहयोगी बनेको छ ।
जसले स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन थालेको यहाँको पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष झनकबहादुर महतोले बताए । होमस्टे सञ्चालनपछि उक्त क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुन थालेको छ ।
नवलपुरको कावासोती नगरपालिकामा रहेको अमलटारी होमस्टेको सफलतासँगै जिल्लाका अन्य क्षेत्रमा समेत होमस्टे सञ्चालनमा आउन थालेको छ । यहाँको पिप्रहरमा २०७२ सालको फागुनदेखि होमस्टे सञ्चालनमा आएको थियो ।
विभिन्न सङ्घसंस्थाको आर्थिक सहयोग तथा स्थानीय समुदायको लगानीमा सञ्चालनमा आएको होमस्टेले थारु, गुरुङ र मगर जातिको कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुगेको महतोको भनाइ छ ।
पिप्रहर होमस्टे पुग्ने पाहुनाले स्थानीय मौलिक परिकारका खानाका साथै स्थानीय थारु सांस्कृतिक कार्यक्रम, गुरुङ समुदायको संस्कृति तथा मगर जातिको कौरा नृत्य अवलोकन गर्न पाउने छन् ।
धार्मिक पर्यटकीय गन्तव्य मौलाकालिका, शाश्वतधामजस्ता धार्मित तथा ऐतिहासिक सम्पदाका साथै चितवन राष्ट्रिय निकुञ्ज, देवचुली पहाडजस्ता प्राकृतिक सौन्दर्य अवलोकनका लागि पर्यटक पिप्रहर होमस्टेमा पुग्ने गरेका छन् ।
पिप्रहरमा रहेको होमस्टेले आफूहरुको दैनिकीमा समेत परिवर्तन ल्याएको होमस्टे सञ्चालक सदस्य एवं देवचुली–१७ का वडासदस्य विष्णुबहादुर आलेले बताए । होमस्टेट सञ्चालन हुनु अगाडि बिहान बेलुकीको छाक टार्नसमेत धौधौ पर्ने गरेकोमा अहिले आफैँले उत्पादन गरेको कृषिजन्य सामग्री पाहुनालाई खुवाए आम्दानी गर्न थालेको आलेको उनकाे अनुभव छ ।
माछा मारेर जीविका चलाउँदै आएका व्यक्तिहरु होमस्टे सञ्चालपछि कृषि तथा पर्यटकको पथप्रदर्शकको रुपमा काम गर्न थालेका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७ मा स्थापना गरिएको होमस्टेअन्तर्गत २२ वटा घर रहेका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए । उक्त होमस्टेमा ४४ वटा कोठा छन् । यहाँ दैनिक ८८ जनासम्म पाहुला राख्न सकिन्छ ।
होमस्टेमा जाने पर्यटकलाई बस्ने, खाने सबै व्यवस्था सञ्चालक समितिले गर्दै आएको आचार्यले बताए । पिप्रहर पुग्ने पाहुनालाई होमस्टे सञ्चालकले स्थानीय खाना खुवाएर स्वागत गर्ने गर्दछन् । पिप्रहर पुगेका आगन्तुकबाट उठेको रकम १० प्रतिशत समूहमा राखेर बाँकी पैसा भने होमस्टेका सदस्यलाई वितरण गर्ने गरिएको छ ।
होमस्टे स्थापनापछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पिप्रहर होमस्टे ग्रामका व्यवस्थापक सोमनाथ महतोका अनुसार होमस्टे सञ्चालनको वर्ष २०७२/७३ मा ८०० पर्यटक आएका थिए । जसबाट आठ लाख ७१ हजार २०० रूपैयाँ आम्दानी भएको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा तीन हजार २५४ जनाले होमस्टेबाट सेवा लिएकामा ३५ लाख रूपैयाँ भन्दाबढी आम्दानी भयो । आव २०७४/७५ मा झण्डै पाँच हजार पर्यटकबाट होमस्टेले ५२ लाख रूपैयाँ कमाएको थियो । आव २०७५/७६ मा छ हजार पर्यटक आएको र ६५ लाख ३५ हजार रूपैयाँ आम्दानी गरेको महतोले बताए ।
यहाँ सांस्कृतिक हलसमेत छ । नेपाल पर्यटन बोर्डको तीन लाख रूपैयाँ, लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिको ३५ लाख रूपैयाँ, तराई भू–परिधि कार्यक्रमको २० लाख ५० हजार रूपैयाँ, चितवन राष्ट्रिय निकुञ्ज शिसुवार उपभोक्ता समितिको एक लाख ३० हजार रूपैयाँ, तत्कालीन रजहर गाविसबाट चार लाख रूपैयाँ र तत्कालीन जिल्ला विकास समिति नवलपरासीको तीन लाख रूपैयाँ आर्थिक सहयोगमा सांस्कृतिक हल बनाइएको हो ।
पिप्रहरमा सञ्चालन भएको होमस्टेले २०७५ सालको उत्कृष्ट होमस्टे पुरस्कारसमेत प्राप्त गरेको छ ।–टेकराज पोखरेल/रासस