काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक अटो नेपालमा सार्वजनिक गरेको छ । लिथियम–आयोन ब्याट्रीमा सञ्चालित ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्ट मूल्य ८ लाख ४० हजार रुपैयाँ छ ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउँछ । यो सवारी महिन्द्राको भारतको बैंग्लाेरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । नेपालको केही तराई क्षेत्रमा ट्रियो अटो बिक्री वितरणका लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ ।
महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख बचत गर्न सक्ने कम्पनीको दाबी छ ।
अटो शुभारम्भ कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिक मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने ‘नेपालले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ ।
ट्रियोले पेट्रोल अटोको तुलनामा ठूलो रकम बचत गरी सवारीधनीको जीविकामा सुधार ल्याउने उनले बताए । जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि ‘हाइड्रोलिक सक एब्जर्भर’ र पछाडि ‘लिफ स्प्रिङ’को प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदान गर्ने कम्पनीको दाबी छ ।
पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमि ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत पर्ने महिन्द्राले जनाएको छ । फूल चार्ज गर्दा आठ युनिट लाग्ने र प्रतियुनिट १२ किमिका दरले फूल चार्जमा १२० किमी गुड्ने कम्पनीको दाबी छ ।
यसले ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क उत्सर्जन गर्नेछ । कम्पनीका अनुसार प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पीड दिनेछ । मोबाइल चार्ज गरेजसरी घरमै १५ एम्पियर सकेटमा जोडेर यसमा सजिलै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।