विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली सडक खण्डमा पर्ने हाटखोलामा रहेको सिंघिया पुल जिर्ण अवस्था भएको भन्दै मोरङ व्यापार संघले मर्मत गर्न आग्रह गरेको छ ।
कटहरी क्षेत्रमा रहेका उद्योगको उत्पादित सामान तथा कच्चा पदार्थ लिएर दैनिक हजारौं गाडीहरु हिड्ने भएकाले पुल भत्किएमा उद्योग क्षेत्र धरासायी हुने भन्दै संघले मर्मतको लागि सम्वन्धित निकायहरुलाई आग्रह गरेको हो ।
संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई पुल बनाउनको लागि आग्रह गर्दिन भन्दै ज्ञापनपत्र बुझाएको छ । सरकारी निकायले गर्नुपर्ने सडक तथा पुलको कामहरु समयमा नहुँदा उद्योगहरुमा समस्या देखिने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।
आफुहरुले सम्वन्धित निकायहरुसँग जाँदा सहरी विकासले सडक डिभिजनलाई देखाउने अर्कोले अर्कोलाई देखाउने गरेको र कसैले चासो नदेखाएकाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल मार्फत आग्रह गरेको मुन्दडाले बताए ।
मोरङ सुनसरी औद्योगिक करिडोर अन्तर्गत पर्ने कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा सञ्चालन रहेका सैयौ उद्योग, कल कारखानाहरु तथा मोरङका पूर्वी भेगका अधिंकाश बजारलाई औद्योगिक नगरी एवं व्यवसायिक केन्द्र विन्दु विराटनगर र विराटनगर भन्सार नाकासँग जोड्ने पुलको समयमा निर्माण नभए आर्थिक घाटा हुने अध्यक्ष मुन्दडाले बताए ।
पहिला पनि सामान्य मर्मत मात्र गरिएको पुल बाढीका कारण अहिले थप क्षति भएकाले समयमा नै मर्मत नगरिए पुल जिर्ण हुने विज्ञप्तीमा उल्लेख छ ।
पुल जिर्ण हुँदा सयौं उद्योगहरु तथा बजारको आर्थिक गतिविधि ठप्प हुने जनाईएको छ । उद्योग ठप्प हुँदा सैयौंको रोजगारी गुम्ने र व्यवसायिक गतिविधि ठप्प हुँदा आर्थिक गतिविधि पनि ठप्प हुने मुन्दडाले बताए ।