काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ ।
क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालकहरू, पत्रकारहरू र प्रभावशालीहरूसँगै यात्रा गरेका थिए ।
नेपाल र भारतीय उपमहाद्वीपभर जावा प्रिमियम दुई पाङ्ग्रेका रूपमा बजारमा आएको हो । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जावा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ ।
“हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक रहेको छ,” क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले भने, “नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं ।
नेपाल रमणीय सुन्दर देश हो । आज देशभरका जावा प्रेमी साथीहरूसँग सवारी गर्नु एउटा गजबको अनुभव थियो । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा जावा मोडेलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।”
“हाम्रा स्थानीय वितरण साझेदार अग्नि मोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गर्छ र उनीहरूले देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई अतुलनीय सवारी र स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई समर्थन गर्छ । हाम्रो हृदयमा नेपालका लागि विशेष स्थान छ । हामी यस सुन्दर देशमा हाम्रो समुदाय (कोम्युनिटी) वृद्धिका लागि तत्पर छौं,” उनले थपे ।
क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखि भारतमा जावा ब्रान्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ । नेपालमा ब्राण्डलाई अझ बढी सुदृढ तुल्याउने र भारतमा जस्तै जावा प्रेमीहरूको मन जित्ने कम्पनीको आशा छ ।