काठमाडौं । काठमाडौं र चितवनमा पर्यटनको बेस बनाएका पर्यटन व्यवसायी एवं होटल संघका पूर्वअध्यक्ष गौतम दास श्रेष्ठको निधन भएको छ । लामो समयसम्म पर्यटन क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठले दरबारमार्गमा शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालनमा ल्याएका थिए ।
काठमाडौंको दरबारमार्गमा शेर्पा होटल सञ्चालनमा रहँदा अन्नपूर्ण होटल मात्र सञ्चालनमा रहेको थियो । श्रेष्ठले चलाएको शेर्पा होटल बन्द भएर अहिले मलको रुपमा सञ्चालनमा रहेको छ । यस्तै चितवनमा रहेको सफारी नारायणी होटल सञ्चालनमै रहेको छ ।
होटल संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठको सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
‘दुःखको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ’,संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विक्रम संवत १९९५ सालमा काठमाडौंमा जन्मिएका स्वर्गीय श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका हुन् ।
स्वर्गीय श्रेष्ठ विगत लामो समयदेखि होटल संघ नेपालमा आबद्ध रही सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । उनको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
होटलका संघका प्रथम उपाध्यक्ष विनायक शाहले श्रेष्ठले काठमाडौं र चितवनमा पर्यटनको बेस बसाएको बताउँछन् । ‘पर्यटन क्षेत्रको विकासमा उहाँको ठूलो योगदान रहेको छ, उपाध्यक्ष शाहले भने, होटल क्षेत्रमा नयाँ आयाम ल्याउनसमेत उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।’
श्रेष्ठले होटलसँगै दीपकबहादुर सिंहसँगको सहकार्यमा मर्सिडिज बेन्जको आधिकारिक विक्रेता कम्पनी दीपक एन्ड गौतम कम्पनी स्थापना गरेका थिए ।