काठमाडौं । बैंक अफ काठमाडौं र काठमाडौं गेस्ट हाउसबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार काठमाडौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा उक्त बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने भएका छन्।
सो बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने समेत सम्झौता भएको छ।
काठमाडौं गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्ट्स प्रवेश शुल्कमा पनि ग्राहकले ५० प्रतिशत छुट पाउनेछन्। साथै काठमाडाैं गेस्ट हाउस समूहअन्तर्गत विभिन्न ७ स्थानहरु काठमाडौं गेस्ट हाउस, ठमेल, माया हात्तीसार, पार्क भिलेज रिसोर्ट, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, मानोर बुटिक होटल, बुढानीलकण्ठ, मारुनी स्यान्कचुअरी लज, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ट १५ प्रतिशत छुट पाइनेछ।
साे छुट उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। काठमाडौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखि देशका प्रमुख सहरहरूबाट सेवा दिँदै आएको छ।
बैंक अफ काठमाडौंको ९१ शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टर छन्।