विराटनगर । गोठमा रहेको गाईलाई मेसिनले घाँस दिन्छ, मेसिनले नै दूध दुहुन्छ र मेसिनले नै गोबर सोहर्छ । फार्मलाई आधुनिक र प्रविधियुक्त बनाएर दूधमा आत्मनिर्भर बनाउन २ युवाले ५० करोड रुपैयाँ लगानी गरेका छन् । विराटनगर महानगरपालिका–१२ दरैयामा नेपालको पहिलो प्रविधियुक्त र आधुनिक बन्जरा एग्रो प्राइभेट लिमिटेड सञ्चालनमा आएको हो ।
गाई फार्मसँगै अग्र्यानिक तरकारी खेती तथा कृषि बजार सञ्चालन गर्ने उद्देश्यले बन्जरा एग्रो प्रालि परियोजनाअन्तर्गत काम भइरहेको छ । अहिले फार्ममा २७ वटा गाई छन् भने ग्रीन हाउसमा विभिन्न किसिमका बेमौसमी तरकारीहरू लगाइएको छ ।
स्थानीय गजेन्द्र शर्माको लगानीमा सञ्चालन भएको हो । यसलाई नेपालको नै पहिलो प्रविधियुक्त एग्रो फार्म बनाउने उद्देश्य रहेको फार्मका अपरेसन म्यानेजर सन्जय चापागाईंले बताए ।
चीनको हिलटन होटलमा म्यानेजरका रूपमा काम गरिरहेका शर्माले आफ्नो ठाउँमा केही गर्ने चाहना र प्रदेश १ को विकाससँगै विराटनगरलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना अघि बढाएको चापागाईंले जानकारी दिए । परियोजनामा शर्माको ८० प्रतिशत र चापागाईंको २० प्रतिशत लगानी छ ।
परियोजना निर्माणको काम सुरु भएको ८ महिना भयो । अहिले फार्ममा २७ वटा उन्नत जातको गाई छन् । ५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको फार्ममा आधुनिक प्रविधिबाट तरकारी खेती गरिएको छ ।
गाईहरू धनगढीबाट ल्याउने गरेको चापागाईंले जानकारी दिए । उन्नत जातको गाई पाउन समस्या भएको र भारतले पनि गाईहरू ल्याउन नदिने भएकाले समस्या भएको उनले बताए । ‘नेपालमा उन्नत जातको गाई पाइँदैन, पश्चिममा भारतबाट ल्याउँछन् अनि हामी त्यहाँबाट ल्याउने गर्छौं’, उनले भने, ‘बल्ल–बल्ल २७ वटा पुर्याएका छौं, २ सयवटा पुर्याउने हाम्रो लक्ष्य हो ।’
एउटा गाईले दैनिक ३० लिटर दूध दिने गरेको चापागाईंले बताए । ‘उन्नत जातको गाईले दैनिक कम्तीमा २० लिटर दूध दिन्छ, हामीसँग भएका गाईले ३० लिटरसम्म दूध दिन्छन्’, उनले भने, ‘गाई ल्याउन अहिले धेरै समस्या भइरहेको छ, उन्नत जातको गाई नेपाल ल्याउन भारतले दिँदैन, अहिले हामीसँग भएका गाई होलस्टेन जर्सी हो । यसबाट हामी ४० लिटरसम्म दूध दिने गाई उत्पादन गर्ने सोचमा छौं ।’
‘हाम्रो चाहना पनि हो, हामीसँग भएका गाईबाट उन्नत जातको बाच्छी निकाल्ने, त्यसका लागि सेक्सीबल प्रयोग गरेर कम्तीमा ५ वर्षमा हाम्रा कृषकलाई उन्नत जातको गाई उपलब्ध गराउने’, उनले भने ।
अहिले फार्मबाट दैनिक ५ सय लिटर दूध बिक्री भइरहेको सञ्चालक चापागाईंले बताए । छुट्टै भैंसी पनि पालन गरेको उनले बताए । अहिले १२ वटा भैंसी रहेको र भैंसीको १ सय लिटर दूध हुने गरेको उनले जानकारी दिए । गाईको मात्र ४२५ लिटर दूध दैनिक हुन्छ । दूध र तरकारीबाट मासिक ७ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।
आम्दानी हरेक महिना बढ्दै जाने उनको भनाइ छ । गाईहरू पनि थप्दै र तरकारी खेती पनि बढाउँदै जाने भएकाले आम्दानी पनि बढ्दै जाने उनले जानकारी दिए ।
निर्माणको काम पनि भइरहेको छ । निर्माणको काम पनि गर्दै जाने र व्यवसायलाई पनि सँगसँगै लैजाने बताउँदै चापागाईंले फार्म पूर्ण रूपमा सञ्चालनमा आउन अझै ५ वर्ष लाग्ने बताए ।
तरकारी पनि आधुनिक प्रविधिबाट गरिएको चापागाईंले बताए । अग्र्यानिक उत्पादन भएकाले दूधका ग्राहकले नै तरकारीहरू किन्ने गरेको उनको भनाइ छ । बजारभन्दा सस्तो र अग्र्यानिक भएकाले अहिलेसम्म दूध लिने ग्राहकले नै तरकारी लिने गरेको उनको भनाइ छ । आफूहरूले ७५ रुपैयाँ लिटर दूध घर–घरमा नै पुर्याउने गरेको र बाँकी रहेको दूधको दही, घिउ र पनिर बनाउने गरेको पनि उनले जानकारी दिए ।
फार्मका विशेषता
फार्म प्रविधिमैत्री हुनेछ । उपकरण चीनबाट आयात गरिएको हो । काम गर्ने मजदुरको संख्या कम हुनेछ । सबै काम मेसिनले गर्नेछ । दूध दुहुने, गाईलाई पानी खाना हाल्ने, गोबर सोर्ने मेसिन नै हुनेछ । बायोग्यास हुनेछ ।
गाईले नुहाउने, आराम गर्ने, खाने ठाउँ छुट्टै हुनेछ । गाईको गोबर प्रयोगका लागि अग्र्यानिक तरकारी खेती भइरहेको छ । कृषि बजार पनि सञ्चालनमा आउनेछ । दूधबाट बन्ने दूधजन्य सामान सबै पाइनेछ । बन्जरा एग्रो प्रालि पूर्णरूपमा सञ्चालनमा आउँदा नेपालकै सुन्दर कृषि फार्म र प्रविधियुक्त फार्मका रूपमा विकास हुनेछ ।
बेमौसमी पानीले तरकारीमा क्षति
बेमौसमी पानीका कारण आएको बाढीले तरकारीमा भने क्षति पुर्याएको ग्रीन हाउसका इन्चार्ज अमृत बन्जराले बताए । काँक्रोमा मात्र ३ लाख रुपैयाँभन्दा बढी क्षति भएको उनको भनाइ छ । साग, फूलकोभी, बोडी, टमाटर सबै नष्ट भएको उनले बताए ।
सबै फल्न थालेको बिरुवाहरू मरेका छन् । दैनिक ४ सय किलो काँक्रो उत्पादन भइरहेको थियो । सबै काँक्रोको बोट मरेको बन्जराले बताए । अब सबै नयाँ बिरुवाहरू रोप्नुपर्ने अवस्था भएको उनको भनाइ छ ।
मेगा बैंकबाट ५ करोड कृषि कर्जासहित ११ करोड रुपैयाँ ऋण लिएर बन्जरा एग्रोको निर्माण सुरु भएको हो । निर्माण सम्पन्न भइसक्दा ५० करोड रुपैयाँ खर्च हुने सञ्चालकको अनुमान छ ।