काठमाडौं । निक्षेपको ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका बैंकहरुलाई अंकुश लगाएको नेपाल राष्ट्र बैंकले तरलता सहज गराउन लागेको छ । मौद्रिक नीतिमार्फत कर्जा–निक्षेप अनुपात (सीडी) लागू गरेपछि बजारमा तरलताको अभाव भएको र त्यसलाई निराकरण गर्न राष्ट्र बैंक लागेको हो ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बजारमा तरलता अभाव नहुने बताएका छन् । ‘नयाँ सिस्टम लागू गर्दा म्यानेज गर्न केही समस्या भएको हो,’ उनले भने, ‘तर, अब बजारमा तरलता अभाव पनि हुँदैन र ब्याजदर पनि बढ्दैन ।’
केन्द्रीय बैंकले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका बैंकमाथि अंकुश लगाइसकेको छ । एकल अंकमा ब्याजदर राख्न केन्द्रीय बैंक प्रतिबद्ध छ । त्यसैगरी अहिले देखिएको तरलता अभावलाई पनि कम गर्न केन्द्रीय बैंकले विभिन्न वित्तीय औजार प्रयोग गरिरहेको उनको भनाइ छ ।
बजारमा लगानीयोग्य रकम अभाव भएपछि बैंकहरु निक्षेप तान्न दौडिएका थिए । निक्षेपको ब्याज बढाउन होडबाजी नै चलेको थियो । निक्षेपको ब्याजसँगै कर्जाको ब्याज पनि बैंकहरुले बढाउन थालेका थिए । तर, केन्द्रीय बैंकको हस्तक्षेपपछि बैंकहरु ब्याज बढाउनबाट पछि हटेको छन् ।
यसरी बैंकले जथाभावि रुपमा ब्याजदर बढाउन थालेपछि अर्थतन्त्रमै गम्भीर असर पर्ने भएपछि केन्द्रीय बैंकले ब्याजदर बढाउन पनि नदिने बजारमा तरलता अभाव हुन पनि नदिने नीति लिएको हो ।
‘बजारमा जसरी तरलता अभावको हल्ला चलाइएको छ, त्यसरी अभाव हुन केन्द्रीय बैंकले दिँदैन,’ अधिकारीले भने, ‘केही समय तरलता अभाव भएको जस्तो मात्रै देखिएको हो । अहिले विस्तारै सहज हुँदै गइरहेको छ । अझै सहज हुन्छ ।’
सरकारले पनि ब्याजदर र तरलतालाई सहज बनाउन पुँजीगत खर्चलाई बढाउने गरी काम गरिरहेको छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्राल पुँजीगत खर्च बढाउन के के कुरामा सुधार गर्न सकिन्छ भनेर लागेको अवस्था छ ।
अहिले सरकारले टेन्डरको समयलाई २१ दिनमा झार्न खोजेको छ । यदि त्यो लागू भए पुँजीगत खर्चमा केही सुधार हुने बजारमा तरलता अभावको अन्त्य हुने सरकारी अधिकारीहरु बताउँछन् ।