एजेन्सी । बिहीबार भारतले कोरोना भाइरस विरुद्धको १ अर्ब डोज खोपको कोशेढुङ्गा पार गरेको छ । कूल आपूर्तिको ९० प्रतिशत अर्थात ९० करोड डोज खोप मात्रै भारतको औषधी कम्पनी सेरम इन्सिच्यूट अफ इन्डियाले प्रदान गरेको छ ।
सेरम अहिले कोडिभ विरुद्धको खोप उत्पादनमा तिव्र गतिमा लागेको छ । सेरमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक अन्तरर्वार्तामा खोपको कोशेढुङ्गा पुरा गर्दाका आएका चुनौती र सफलताका बारेमा बताएका छन् ।
खोपको मात्रा पुरा गर्ने सेरमको यात्रा कस्तो रह्यो ?
नियामक निकायहरुको अनुमोदन पाउनदेखि खोप उत्पादन प्लान्ट भवन बनाउन र लगानी जुटाउन धेरै काम हामीले गर्यौं । यो कामका लागि हामीलाई ८० करोड डलरभन्दा धेरै रकम थप लगानी गर्न पर्यो । सेरमलाई गेट्स फाउण्डेसन तथा विभिन्न मुलुकहरुबाट लगानी संकलन गर्यौं ।
यसबाहेक भारत सरकारले पनि हामीलाई वित्तीय सहयोग प्रदान गर्यो । खोप उत्पादनमा हामीले आफ्नै पैसा पनि धेरै खर्च गर्यौं । यसबीचमा ठूलो परिमाणमा कच्चा पदार्थ ल्याउन हाम्रा लागि विशाल चुनौती रह्यो । यसैकारण सन् २०२१ मा कोभिडको दोस्रो लहर सुरु हुँदा पनि खोप उत्पादनलाई धेरै ‘स्केलअप’ गर्न सकिएन । कोभिडसिल्ड बनाउन चाहिने ती सबै कुरा जुटाउन हाम्रो लागि सबैभन्दा ठूलो चुनौती थियो ।
भ्याक्सिन उत्पादनका लागि आफ्नो टिमलाई कसरी परिचालन गर्नुभयो ?
हामीले कोभिड १९ को खोप उत्पादन गर्न मात्र थप १ हजार जनालाई भर्ना गर्यौं । हामीसँग भएकाभन्दा अतिरिक्त जनशक्ति भर्ति गर्न पर्यो । सेरमका धेरै डिपार्टमेन्टहरु कोभिड भ्याक्सिन बनाउनमै व्यस्त थिए । अहिले हामी कोभोभ्याक्स र अन्य भ्याक्सिनहरु बनाउने तयारीमा छौं ।
तपाईंहरुलाई धम्की पनि आयो भन्ने सुनियो त्यस बेला तपाईंहरुको अवस्था कस्तो थियो ?
त्यसबेला सबैलाई भ्याक्सिनको खाँचो भएकाले हामीमाथि एकदमै ठूलो दबाब थियो । सरकारप्रति म कृतज्ञ छु, जसको कारणले ती सबै दबाब र मागलाई व्यवस्थापन गर्न सकियो । यसरी हामीले हरेक चुनौतीलाई पार गर्यौं । अनुमति र वित्तीय सहयोग सबैमा सरकारले सहयोग दियो ।
कोभिड भ्याक्सिनको उत्पादनले अन्य बस्तुको उत्पादनमा कतिको असर गरेको छ ?
यस वर्ष हामीले ‘लन्च’ गर्ने भनेको हाम्रा सबै उत्पादनहरु आगामी दुई वर्षसम्मका लागि ढिलाई हुनेछ । देश र सरकारको भिजनलाई पुरा गर्न हामी अहिले लागि परेका छौं ।
अहिले कोभिड भ्याक्सिनको माग धेरै छ । भविष्यमा कस्तो होला भन्ने देख्नु भएको छ ?
मलाई लाग्छ एक वर्षपछि त मान्छेलाई खोप नै चाहिँदैन । तर, यसलाई ‘इनर्जी बुस्टर’को रुपमा लिन थाल्ने छन् जस्तो लाग्छ । जुन वैकल्पिक हो । अहिलेको समयमा भनेको सबैलाई सुरक्षा चाहिएको छ । पछि यसलाई कसैले वार्षिक वा अर्धवार्षिकरुपमा बुस्टरको रुपमा मानिसहरुले प्रयोग गर्न सक्छन् । सरदर यसको माग दुई वर्षसम्म रहला त्यसपछि यो झर्छ भन्ने मलाई लाग्छ ।
तपाई बुस्टर डोजको पक्षमा हुनुहुन्छ ?
नैतिकरुपमा भन्न पर्दा मेरो विचारमा सबैले दुई डोज पाइसकेपछि बुस्टरको रुपमा खोप प्रदान गर्नु हुन्न । तपाई कमजोर वा कुनै खास उमेर वर्गमा पर्नुहुन्न भने तपाईलाई बुस्टरको आवश्यकता हुँदैन । यदि तपाईं स्वस्थ्य हुनुहुन्छ भने तपाईं सुरक्षित हुनुहुन्छ । पछि कसैलाई बुस्टरको आवश्यक पर्छ पर्दैन भन्ने कुरा हामी हेर्ने छौं । यो विज्ञान र नैतिकताको कुरा हो ।
(इकोनोमिक टाइम्सको सहयोगमा)