काठमाडौं । युएईमा श्रम बेच्ने र किन्ने देशहरुबिच बहुपक्षिय छलफल ’अबुधाबी डाइलग‘ नेपालले श्रम सम्झौता र श्रमिकलाई समान ज्यालाको विषय उठान गर्ने भएको छ ।
कात्तिक ८ गतेदेखि १२ गते( अक्टोबर २५ देखि २९)सम्म हुने अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालको तर्फबाट सहभागि हुन जान लागेका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ(किशान) ले दुबईसँगको श्रम सम्झौतादेखि श्रमिकलाई समान ज्यालाको विषयमा जोडतोडका साथ विषय उठाउने जानकारी दिए ।
लामो समयदेखि दुबईसँग श्रम सम्झौताको विषयमा छलफल भएपनि हालसम्म ठोष निर्णय निकाल्न नसकिरहेको बेला त्यहि हुन लागेको सम्मेलनमा यसलाई विषेश प्राथमिकताका साथ विषय उठान गर्न लागिएको उनको भनाई छ ।
सम्मेलनमा नेपालको तर्फबाट कुन कुन विषयहरु उठान गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरिरहेको बताउँदै श्रम सम्झौता र समान ज्याला प्रमुख मुद्धा रहेको उनले बताए ।
नेपाली श्रमिकहरु धेरै रोजगारीका लागि दुबईमा गएको र श्रम सम्झौता नहुँदा दुख पाएको भन्दै यो समस्या तत्कालै सम्बोद्धनका लागि आफ्नो विदेश भ्रमण फलदायी रहने विश्वास व्यक्त गरेका छन् ।
श्रम सम्झौता नभएकै कारण नेपाली श्रमिकहरुले समान ज्याला पाउन नसकेको बताउदै अन्य मुलुकका श्रमिकले सरहनै तलब पाउने गरी सहमतिका लागि छलफल अगाडी बढाउने उनको भनाई छ । केहि समय अघि मात्र दुबईको राजदूतसँगको भेटमा पनि श्रम सम्झौता र समान ज्यालाको विषयमा कुरा उठाएको मन्त्री श्रेष्ठले बताए ।
वैदेशिक रोजगार व्यवसायीहरुको कारणले पनि नेपाली श्रमिकहरुले समान ज्याला नपाएको उनको भनाई छ । अन्य मुलुकका श्रमिकले भन्दा नेपालीहरुले धेरै कम ज्याला पाएको भन्दै यसको समस्या समधानका लागि आफु लागि पर्ने जानकारी दिए । अन्य मुलुकमा रोजगारदाता कम्पनीले ज्यालाको विषयमा बार्गेनिङ गर्ने गरेपनि नेपालले भने उल्टै रोजगारदाता कम्पनीसँग बार्गेनिङ गर्ने गरेकोले पनि यस्तो समस्या आएको हुन सक्ने उनको ठहर छ ।
योसँगै युएईसँग दक्ष कामदारहरुलाई पनि लिनका लागि अनुरोध गर्ने तयारी गरेका छन् । अहिले धेरै नेपाली श्रमिकहरु सेक्रुरेटी गार्डको रुपमा मात्र धेरै लैजाने गरेको बताउदै अव नेपालबाट डाक्टर,इन्जिनियर,कुक लगाएतका दक्ष कामदारहरु पनि लैजान अनुरोध गर्ने उनको भनाई छ ।