विराटनगर । प्रदेश १ मा प्रदेश पर्यटन बोर्डको गठन गरिएको छ । बोर्डको गठनसँगै कार्यालय पनि स्थापना गरिएको छ । प्रदेश पर्यटन बोर्डको कार्यालयको प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण तिवारी र राज्यमन्त्री उत्तमकुमार बस्नेतले शुभारम्भ गरेका हुन् । हाललाई मन्त्रालयमै बोर्डको कार्यालय राखिएको छ ।
कार्यालय स्थापनासँगै उपाध्यक्ष फणिन्द्र अधिकारी सहितका सदस्यहरूले पद बहाली गरेका छन् । कार्यालय उद्घाटन गर्दै मन्त्री तिवारीले प्रदेश पर्यटन बोर्डको स्थापनासँगै आगामी दिनमा पर्यटकीय गतिविधि बढ्दा विश्वास व्यक्त गरे ।
‘बोर्डको स्थापनासँगै प्रदेशको पर्यटन प्रवद्र्धन र पर्यटन पूर्वाधारको विकासका लागि बोर्डले कार्ययोजनाका साथ काम गर्नेछ, मन्त्री तिवारीले भने, बोर्डलाई केही वर्ष सरकारले नै सहयोग गर्ने र त्यसपछि बिस्तारै आफैँ स्रोतको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने छ ।’ राज्यमन्त्री बस्नेतले पर्यटन क्षेत्रलाई उद्योगका रूपमा अघि बढाउन बोर्डको भूमिका महत्वपूर्ण हुने बताए ।
गत असोज २४ गतेको मन्त्रिपरिषदको बैठकबाट प्रदेश पर्यटन बोर्ड गठन गर्दै जिम्मेवारी तोकेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार बोर्डको उपाध्यक्षमा अधिकारी सहित ११ सदस्यीय बोर्ड गठन भएको थियो ।
पद बहाली गर्दै प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष अधिकारीले गठनसँगै कार्यालय सञ्चालन हुनुले अब पर्यटनसम्बन्धी योजना निर्माण सहित बोर्डले गतिविधि अघि बढाउने बताए । ‘बोर्डमा हामी पर्यटनमा केही गरौँ भन्ने युवाहरूको समूह छ, उनले भने, आगामी दिनमा योजना बनाएर पर्यटन सम्बन्धी गतिविधिका लागि कामहरू अघि बढाउने छौँ ।’ प्रदेश १ को पर्यटन विकासका लागि सम्बन्धित सबैसँग सहकार्य गरेर अघि बढ्ने अधिकारी प्रतिवद्धता व्यक्त गरे ।
कार्यालय स्थापना तथा पद बहाली कार्यक्रममा बोर्डका सदस्य कृष्णकुमार शाह, होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, पर्यटन पुनरुत्थान समितिका प्रदेश संयोजक भविश श्रेष्ठ, होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजेन्द्र दंगालले बोर्ड गठन र कार्यालय स्थापना गरेर सरकारले पर्यटन क्षेत्रका लागि नयाँ कामको सुरुवात गरेको बताएका थिए ।
नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा शाखा स्थापना गर्नु पनि उचित नहुने उनीहरुको भनाई थियो । नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा शाखा कार्यालय खोल्ने तयारी गरिरहेको छ ।
कतिपयले प्रदेश पर्यटन बोर्ड गठन गरिसकिएको अवस्थामा शाखा कार्यालय खोल्नु संघियता विपरित हुने समेत बताएका छन् । दुवैको एउटै उदेश्यले भएकाले आ आफ्नो ठाउँमा बसेर काम गर्नुपर्ने पर्यटन व्यवसायीको भनाई छ ।