काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी अडिटका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोली नेपाल आउने भएको छ । सन् २०२२ को अप्रिलमा नेपालको उड्डयन क्षेत्रको सुरक्षा सुधारबारे गहन अध्ययन र मूल्यांकन गर्न आइकाओको टिम नेपाल आउने भएपछि प्राधिकरणले तयारी तीब्र बनाएको छ ।
युनिभर्सल सेफ्टी अडिट प्रोग्रामअन्तर्गत नेपालको सेफ्टी ओभरसाइट अडिटलाई नेपालले विशेष चासोका साथ हेरिएको छ । सेफ्टी अडिटको बेला त्रुटि देखिएपछि २०७० साल मंसिरदेखि नेपाललाई युरोपियन युनियन(ईयू)ले नेपालको उड्डयन क्षेत्र (वायुसेवा कम्पनीसहित) को कालोसूचीमा राखेसँगै २०२२ हुने अडिटलाई महत्वका साथ हेरिएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
अडिटलाई प्रभावकारी बनाउन प्राधिकरणले दुई महिना अघिदेखि नै तयारी थालिसकेको छ । प्राधिकरणले उपमहानिर्देशक भोला गुरागाईको नेतृत्वमा स्टेरिङ कमिटी फ्लाइट सेफ्टी डाइरेक्टर राजु श्रेष्ठको नेतृत्वमा ‘वर्किङ टिम’ बनाएको छ । सो टिमले अहिले तीब्र गतिमा काम गरिरहेको र आवश्यक डकुमेन्टहरु जम्मा गरिरहेको जनाएको छ ।
‘हामीलाई चाहिने डकुमेन्ट र गर्नुपर्ने सुधारका कामहरु गरिरहेका छौं, निमित्त महानिर्देशक क्षेत्रीले भने, त्यो अडिटपछि सकारात्मक रिपोर्ट आएपछि मात्र ईयूले नेपाली आकाशलाई कालोसूचीबाट हटाउने अपेक्षा राखेको छु ’ ।
उड्डयन क्षेत्रको ८ वटा ‘क्रिटिकल इलिमेन्टस’ मध्ये ७ वटा क्षेत्र उड्डयन प्राधिकरणसँग सम्बन्धित हुन्छ भने एउटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग हुन्छ । त्यसैले मन्त्रालयलाई पनि यससम्बन्धी जानकारी गराइसकिएको र तयारी पनि गरिरहेको उनले बताए ।
संसारभरका नागरिक उड्डयन प्राधिकरणको छाता संगठन आइकाओमा १ सय ९१ देश सदस्य छन । यसले ती देशका नागरिक उड्डयन क्षेत्रको सुरक्षा र सुधारबारे संपरीक्षण (अडिट) गर्दै आएको छ ।
सन २०१७ मा आइकाओको अडिटले कालो सूचीबाट हटाएपनि ईयुले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन । ईयुले हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न सुझाव दिएसँगै सरकारले दुइवटा बनाउनका लागि प्रक्रिया अगाडी बढाइसकेको छ ।
त्यसका लागि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ पारित गरिसकेको छ ।