काठमाडौं । राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा लगानी गरेको एसियाली विकास बैंक (एडीबी)ले ऋण सम्झौता गरेको रकम सकिएको छ । उक्त रकम सकिएसँगै एडीबीले आयोजना पुनर्निर्माणका लागि रकम नथप्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
खानेपानी आयोजनाको पहिलो चरणका लागि एडीबीले १२० मिलियन अमेरिकी डलर ऋण सम्झौता गरेको थियो । उक्त रकम हाल सकिएको छ भने आयोजनाको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । तर, गत असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनामा क्षति पुर्याएपछि फेरि अढाइ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म आयोजनामा ३० अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ ।
‘आयोजना अन्तिम चरणमा पुगेकाले थप लगानी हामी गर्दैनौं तापईंहरु आफैंले गर्नुस् भनेर एडीबीले भनिसकेको छ ।’ आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्त भन्छन्, ‘अब नेपाल सरकारले नै गर्छ होला, एडीबीले पहिलो चरणका लागि चासो देखाएको छैन । बैंकका पनि केही प्रक्रियागत कुराहरु होलान, त्यसैले थप लगानीका लागि चासो नदेखाएको हुन सक्छ ।’
यद्यपि एडीबीले भने सम्झौता रकम सकिए पनि हालसम्म काम नरोकेको जनाको छ । खानेपानी मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई गत असोज १० गते आन्तरिक स्रोतबाट आयोजनाको पुनर्निर्माण कार्य अगाडि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेस गरिसकेको छ ।
मेलम्ची पुनर्निर्माणबारे खानेपानी मन्त्रालयले एउटा कार्यदल गठन गरेको थियो । सो कार्यदलले पुनर्निर्माणमा अढाई अर्ब लाग्ने अनुमानसहितको विशेष कार्ययोजना तयार गरी सकेको छ । उक्त कार्ययोजना मन्त्रालयले असोज दोस्रो साता प्रधानमन्त्री कार्यालयलाई बुझाए पनि हालसम्म प्रधानमन्त्री कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।
उक्त कार्य योजना प्रधानमन्त्री कार्यालयले स्वीकृत गरेमा पुनर्निर्माण कार्य सञ्चालन गर्न सजिलो हुने आयोजनाले जनाएको छ । मेलम्ची पहिलो चरणका लागि १२० मिलियन अमेरिकी डलर सहयोग गरेको एडीबीले आयोजनाको दोस्रो चरणका लागि करिब २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने जनाएको प्रवक्त पन्त बताउँछन् ।
तर, मेलम्ची खोलामा गत असार र साउनमा गएको बाढीको कारण दोस्रो चरणको काम अन्योलमा परेको छ । ‘विस्तृत अध्ययन भएर आयोजना निर्माण गर्न सकिन्छ भन्ने भयो भने उस्ले दोस्रो चरणमा लगानी गर्ला अहिले बाढीको कारण तत्परता नदेखाएको हुन सक्छ,’ प्रवक्ता पन्तले भने ।
त्यस्तै तिहार अगाडि नै खानेपानी आयेजनाभन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एडीबीको टोली आयोजना स्थलमा जाने तयारी रहेको बताइएको छ । उक्त टोलीमा स्वदेशी ६ र विदेशी ५ गरी ११ जना रहने एडीबीले जनाएको छ ।