एजेन्सी । आर्थिक वर्षको तेस्रो त्रैमाशमा अपेक्षाभन्दा धेरै सुस्ताएको चिनियाँ अर्थतन्त्रमा सुधार नआउने संकेत देखिन थालेको छ । कोभिड १९ को संकटसँग जुधिरहेको चीन पछिल्लो समयमा चुलिँदो ऊर्जा र विभिन्न औद्योगिक समस्याका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र अहिले समस्याग्रस्त बनेको छ ।
ऊर्जा कटौती भइ वैश्विक बस्तुको मूल्य वृद्धि हुँदा त्यसले कच्चा पदार्थको मूल्यमा समेत प्रभाव पारेको छ । यसैबीच सरकारले २०६० सम्म कार्बन उत्सर्जन तटस्थ बनाउने आफ्नो लक्ष्यलाई पुरा गर्न क्षेत्रीय सरकारहरुलाई दबाब दिएपछि त औद्योगिक क्षेत्रहरु समेत मारमा परेका छन् । चीनका धेरै प्रान्तहरुमा कार्बन घटाउन घरका बिजुली बन्द गर्नेदेखि उद्योगहरु बन्द गर्ने समेत कामहरु भएका छन् ।
यसबाहेक हाल चीनको सबैभन्दा ठूलो कोइला उत्पादक प्रान्त सांक्षी टोरोन्टो बाढीबाट प्रभावित भइरहँदा यसले अझै ठूलो असर गरेको छ ।
भारी वर्षका कारण कोइलाको मूल्य बढेको छ । सरकार हाल उत्पादन क्षमतामा लगाएको क्याप हटाउने तरखरमा छ ।
ऊर्जा संकट झनै गहिरिएपछि त्यहाँ अत्याधिक बिजुली खपत गर्ने सिमेन्ट, स्टिल तथा एलिमुनियम उत्पादक कम्पनीहरु समस्यामा परेका छन् । यसबाहेक अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने रियल स्टेट तथा प्रोपर्टी उद्योगको कर्जा प्रवाहमा समेत कडाइ गरेपछि यसको असर समग्र अर्थतन्त्रमा परेको बताइएको छ ।
प्रोपर्टी उद्योगमा समस्या आउँदा यसले निर्माण क्षेत्र, निर्माणजन्य पदार्थ, होम फर्निसिङ उद्योगमा समेत असर गरेको छ । युनाइटेड ओभरसिज बैंक सिंगापुरकी अर्थविद् विइ चेन होको अनुसार प्रोपर्टी उद्योगमा सरकारले अख्तियार गरेको कडा नियम र ऊर्जा संकटका कारण बैंकहरुले समेत आफ्नो वृद्धि प्रक्षेपणलाई घटाउने बताउँछिन् ।
ऊर्जा संकटका कारण चौथो त्रैमासिकमा आर्थिक वृद्धिदर अझ धेरै ओरालो लाग्ने उनले बताइन् । यसबाहेक हाल चीनमा शैक्षिक क्षेत्रदेखि ठूला प्रविधि तथा गेमिङ कम्पनी सामाजिक रुपान्तरण लक्षित कानुनी अंकुशको बन्धनमा परेका छन् ।
चिनियाँ सरकारले पञ्चवर्षिय योजना नै सार्वजनिक गरी आफ्नो यो नीतिगत संकट अझै केही वर्षसम्म लम्ब्याउने संकेत दिइसकेको छ ।
दीर्घकालिन विकासमा लक्षित यी सुधारले तत्कालिन अवस्थामा घरेलु उपभोगिता, लगानीलाई भने मारमा पारिरहेको अर्थविद्हरु बताउँछन् ।
यसले अल्पकालिन आर्थिक झट्काहरु अनिवार्य ल्याउने उनीहरुको भनाई छ ।
यो पनि हेर्नुहोस
रियलस्टेट र ऊर्जामा मन्दी आउँदा चिनियाँ अर्थतन्त्र धक्का, एसियाली बजारमा असर पर्ने प्रक्षेपण
अष्ट्रेलियासँग आफैंले गरेको अपरिपक्क निर्णय प्रत्युपादक बन्दै चीनलाई
चीनमा चरम विद्युत् संकट, ४४ प्रतिशत उद्योग बन्द