विराटनगर । भारतले कच्चा तेल आयातमा भन्सारदर घटाएपछि नेपाली उद्योग समस्यामा पर्ने भएका छन् । भारत सरकारले असोज २७ गतेबाट लागू हुने गरी पाम, भटमास र सूर्यमुखीको कच्चा तेलको आयातमा लाग्ने भन्सार दर घटाएको हो ।
भारतले कच्चा पाम तेलमा १६ दशमलव ५ तथा सूर्यमुखी र भटमासको तेलमा १९ दशमलव २५ प्रतिशतले भन्सार महसुल घटाएको छ ।
तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल प्रशोधन गरेर भारत निकासी हुने गरेको छ । भारतले कच्च तेलमा बढी भन्सार लिँदा नेपाली उद्योगलाई फाइदा पुगेको थियो ।
पछिल्लो समयमा प्रशोधित तेल निर्यात बढेर समग्र निकासी बढाएको छ । कच्चा वस्तुको भन्सारदर घटेपछि भारतमा उत्पादन सस्तो हुन गई अब नेपालबाट तेल निर्यात घट्ने उद्योगीहरुले बताएका छन् । पछिल्लो समय तेल निर्यातले निकासी व्यापारमा सुधार ल्याएको छ ।
उद्योगीहरुले सरकारले पनि भन्सार महशुलमा छुट हुनु पर्ने माग गरेका छन् । तेल उद्योगहरुले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्ने कच्चा तेलको आयातमा भन्सार महशुल छुट मागेका छन् ।
नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहोराले भारतले तेस्रो मुलुकबाट आयात हुने कच्चा तेलको मूल्यमा लिँदै आएको भन्सार शुल्क शून्यमा झारेपछि सरकारले पनि कच्चा खानेतेलमा लिँदै आएको १० प्रतिशत शुल्क खारेज गरेर शून्यमा झारेमा मात्र नेपालका खाने तेल उद्योगले भारतमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना हुने उल्लेख गरे ।
अध्यक्ष बोहोराले विश्व बजारमा खानेतेलको मूल्य एकाएक बढेकाले त्यसको असर नेपाल र भारतीय उपभोक्ता माथि परेको जानकारी दिए । तर, भारत सरकारले भारतीय उपभोक्तालाई खाने तेलमा बढी मूल्य तिर्न नपरोस भनेर सरकारले नीति ल्याए पनि नेपालले भने ढिला भएको उनले टिप्पणी गरे ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भारत सरकारको सानो भन्दा सानो नीति परिवर्तनले पनि नेपाली उद्योगहरु प्रभावित हुने पुरानै परम्परा रहेको र पछिल्लो नीतिसँग प्रतिस्पर्धा गर्न नेपालले पनि कच्चा तेलको आयात र निर्यातमा लचिलो नीति लिनुपर्ने बताए ।
मुन्दडाले भारतको नयाँ निणर्यले नेपालले त्यसतर्फ गर्दै आएको खाने तेलको निकासी प्रभावित हुने बताए । उनले नेपालका रिफाइनरीले निर्यातका लागि आयात गरिने कच्चा पदार्थमा बैंक ग्यारेन्टी वा पासबुक सुविधा उपभोग गरे पनि भारतीयहरूले भन्सार महसुल तिरेर आयात गरेको कच्चा पदार्थ नै सस्तो पर्ने दाबी गरे ।
उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका संचालक विपिन कावराले भने ‘हामीले बैंक ग्यारेन्टी र पासबुकको सुविधामा कच्चा पदार्थ आयात गर्दा कुनै राजस्व तिर्नुपर्दैन ।
हामीले एक पटकमा जति कच्चा तेल खरिद गर्छौं, भारतीय उद्योगीले एक पटकमा हामीले भन्दा २० गुणा बढीले खरिद गरेको हुन्छ’, उनले भने, ‘भारतीय क्रेताले कच्चा पदार्थ बल्कमा खरिद गर्ने हुँदा हामीले राजस्व नतिरेको कच्चा पदार्थभन्दा उनीहरूले तिरेको कच्चा पदार्थ सस्तो पर्न जान्छ ।’ त्यसैले हामीले गर्ने निर्यात प्रभावित हुने देखिएको उनको भनाइ छ । अब नेपालमा भन्दा भारतमै प्रशोधित तेल सस्तो पर्ने छ कावराले बताए ।
भारतले एक महिनायता कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको हो । एक महिनाअघि तीनवटै कच्चा तेलको भन्सार महसुल ३० प्रतिशतबाट घटाएर २४ दशमलव ७५ प्रतिशत बनाइएको थियो ।
भारतले मुलुकमा बढ्दो महँगी नियन्त्रण गर्न र सर्वसाधारणलाई राहत दिन कच्चा तेलको भन्सार महसुल दोस्रो पटक घटाएको जनाएको छ । नयाँ नोटिफिकेसनअनुसार भारतमा कच्चा पाम तेलको पैठारीमालाग्ने महसुल २४ दशमलव ७५ रहेकोमा त्यसलाई घटाएर ८ दशमलव २५ प्रतिशतमा झारिएको छ। त्यस्तै, भटमास र सूर्यमुखीको कच्चा तेलमा रहेको २४ दशमलव ७५ प्रतिशत भन्सारलाई ५ दशमलव ५० प्रतिशत कायम हुने गरी भारतले संशोधन गरेको छ ।
तेलको कच्चा पदार्थको भन्सार दर घटेपछि अब भारतमा प्रशोधित तेल नेपालको भान्सामा सस्तो पर्ने व्यवसायीहरुले बताएका छन् । नेपालमा विगत केही महिनादेखि तेलको मूल्य बढेको छ । अहिले तोरीको तेलको मूल्य बजारमा २९० रुपैयाँ प्रतिलिटर छ ।
इन्डोनेसिया र मलेसियाबाट आयात गरिने कच्चा पाम तेलको मूल्य अहिले टनको १ हजार ३५० डलर छ । एक महिनाअघि मात्र यसको मूल्य १ हजार १८० डलर थियो । त्यस्तै अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिने कच्चा सूर्यमुखीको तेलको मूल्य एक महिनाअघि १ हजार ३०० डलर प्रतिटन रहेकोमा हाल १ हजार ४८५ डलर छ ।
त्यस्तै अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिने भटमासको कच्चा तेलको मूल्य पनि टनको १ हजार ४२० डलर पुगेको छ । महिना दिनअघि यसको मूल्य १ हजार २५० रहेको व्यवसायीले बताएका छन् ।