काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययनका लागि एसियाली विकास बैंक (एडीबी)ले तिहार अगाडि नै टोली परिचालन गर्ने भएको छ । परामर्शदाता तथा अन्य निकायसँग छलफल गरेर तिहार अघि नै टोली परिचाल गर्ने तयारी रहेको हो ।
उक्त टोलीमा तत्कालका लागि ११ जना रहनेछन् । जसमध्ये ५ जना विदेशी तथा ६ जना स्वदेशी रहने छन् । केही समयपछि ३ जना विज्ञसमेत थप हुने एडीबीले जनाएको छ । खानेपानी आयोजनामा लगानी गर्न एडीबीले स्पष्टपारेको छ । एडीबीका एक कर्मचारी भन्छन्, ‘पहिलाको ऋण सम्झौता सकिएको छ, अहिले हाम्रो लगानी परेको मात्रै हो, आयोजनाको काम छोडेको होइन ।’
केही समय पहिला एडीबीले मेलम्चीभन्दा माथिको भाग अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाताका लागि बोलपत्र आह्वान गरेको थियो । हाल सो बोलपत्र अह्वान गर्दा परेका परामर्शदाताहरुको अन्तिम छनोट कार्य भइरहेको छ ।
यद्यपि अहिलेसम्म पनि विज्ञसहितको टोलीमा को–को परिचालित हुन्छन् भन्ने निश्चित हुन सकेको छैन । तर, ११ जना परिचालित हुने पक्का भएको छ । सो टोलीले मेलम्ची नदीमा बाढी आइरहनुको कारण, लेदोको अवस्था, नदीको संरचना र त्यसको दीर्घकालीन समाधानबारे अध्ययन गर्ने छ ।
गत असार र साउनमा मेलम्ची खोलामा आएको बाढीले अस्थायी रूपमा बनाइएको हेडबक्सको १० देखि १५ मिटर क्षेत्रमा बालुवा÷गिट्टी र लेदो थुपारेको आयोजनाले जनाएको छ । यद्यपि हेडबक्सलाई मर्मत गरेर चलाउन सकिने अनुमान आयोजनाले गरेको छ ।
त्यस्तै अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ । साथै २१० मिटर लामो हेडबक्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ भने ५ वटा पुल बगाएको थियो । मेलम्ची बजारदेखि हेडबक्ससम्म पुग्ने करिब ५ किलोमिटर सडकसमेत निर्माण गर्नुपर्ने भएको छ ।