काठमाडाैं । निरन्तर घट्दो बजारलाई ‘ब्रेक’ गर्दै बुधबार सेयर बजारमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकले ब्याजदर निर्धारणमा हस्तक्षेप गर्दै पूर्व निर्णयहरु सच्याउन बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनको असर बुधबारको सेयर बजारमा परेको छ । यद्यपि बजार सूचक भने लगानीकर्ताको अपेक्षा अनुकूल वृद्धि नभएको गुनासो छ । ब्याजदर निर्धारणमा केन्द्रीय बैंकको हस्तक्षेपले बुधबार सूचक १०० अंकभन्दा बढीले उकालो लाग्ने अपेक्षा सामाजिक सञ्जालहरुमा व्याप्त थियो । तर, बजार सूचक भने कारोबार सुरु हुने बित्तिकै उच्च दरमा बढे पनि त्यसपछि भने दिनभर सम्हालिएर कारोबार भएको छ ।
मंगलबार २५१०.७३ अंकमा रोकिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार प्रि कारोबारले नै १२ अंक बढेर २५२२ मा पुगेको थियो । कारोबार सुरु भएको ८ मिनेटमै सूचकले २५९०.८९ अंक छोए पनि लगत्तै ओरालो लाग्यो र २० मिनेटभित्र २५४५ सम्म झर्यो । त्यसपछि बजार सूचक केही अंक बढेर सामान्य उतारचढावमै दिनभर कारोबार भइरह्यो । अन्तिममा मंगलबारको तुलनामा ६०.५६ अंकले नेप्से बढेर २५७१.६६ अंकमा रोकिएको छ । यसअघि मंगलबार (७७.३३ अंक) र सोमबार (६९.५१ अंक) गरी १४७ अंकले घटेको थियो ।
भदौ २ गते ३१९८.६ अंकमा रहेको सूचक त्यसयता निरन्तर घट्दो क्रममा थियो । बीचबीचमा सामान्य वृद्धि देखिए पनि टिक्न सकेको थिएन । तर, अब बजार टिक्ने लगानीकर्ताहरुको अपेक्षा छ । यद्यपि बजार टिक्ने र वृद्धिको बाटोमा जाने सम्भावना भने बलियो भइसकेको छैन ।
केन्द्रीय बैंकको नीतिले तत्काल ठूलो रफ्तारमा ब्याजदर बढ्न मात्रै रोकेको हो । ब्याजदर नै नबढ्ने भन्ने होइन । खासगरी सेयर धितोकर्ताको पुनरावलोकन, सहज तरलता (लगानीयोग्य रकम) उपलब्धता, नयाँ धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई अनुमति र ब्रोकर कमिसन नघटेसम्म र ब्याजदरको स्थिरता नदेखिएसम्म बजारले गति लिने सम्भावना कम छ ।
राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ब्याजदर बढाउँदा अधिकतम १० प्रतिशतले बढाउन पाइने, यसअघि कात्तिकका लागि बढाइएको ब्याजदर बिहीबारसम्म पुनरावलोकन गर्नुपर्ने र संस्थागत निक्षेपकर्ताको ब्याजदर व्यक्तिगत निक्षेपकर्ताको भन्दा एक प्रतिशत न्यून हुनुपर्ने व्यवस्था गरेको थियो ।
बजार सूचक बढे पनि अधिकांश कमजोर भनिएका जलविद्युत र फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ भने अन्य समूहमा सामान्य तहको वृद्धि भएको छ । बुधबार ६ प्रतिशतभन्दा बढी मूल्य बढ्ने २४ कम्पनीमध्ये १२ वटा जलविद्युत कम्पनी, १० वटा फाइनान्स कम्पनी र २ लघुवित्त वित्तीय संस्था छन् ।
बुधबार आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीमा १० प्रतिशतले मूल्य बढेर सर्किट लेवलमा कारोबार भएका ३ वटै कम्पनी जलविद्युत समूहका हुन् । बुधबार १७९ कम्पनीको मूल्य बढ्दा ७ वटा कम्पनीको मूल्य घटेको छ ।
सबैभन्दा बढी मूल्य घट्नेमा एनआइबीएल प्रगति फण्ड २.३४ प्रतिशत छ भने दोस्रोमा मिथिला लघुवित्त वित्तीय संस्थाको १.९ प्रतिशतले मूल्य घटेको छ ।
बजार सूचक बढे पनि बुधबार कारोबार रकममा भने गिरावट आएको छ । बुधबार २ अर्ब ६७ करोड ९० लाख रुपैयाँको सेयर किनबेच हुँदा सबैभन्दा बढी नबिल बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । मंगलबार ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
याे पनि पढ्नुहाेस्
२ महिनामा साढे २२ प्रतिशत तल झर्यो सेयर बजार, २२०० लाई पछ्याउने आँकलन